१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

कार दुर्घटनामा डाक्टर गौतमसहित पाँच जनाको मृत्यु



झापा– बालरोग विशेषज्ञ डाक्टर महेशकुमार गौतमसहित उनकी छोरी, छोरा, सासू र ससुराको निधन भएको छ । काठमाडौँको चन्द्रागिरी नगरपालिका–४ सेतो पहरामा कार दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो ।

मैतिदेवी बस्ने डाक्टर गौतमका ससुरा ६७ वर्षका ओमकारनिधि तिवारी, ६४ वर्षीया सासु कल्पना तिवारी, डाक्टर गौतमकी ६ वर्षीया छोरी स्मारिका र ४ वर्षका छोरा प्रियान्स गौतमसहित पाँच जनाको ज्यान गएको हो । दुर्घटनामा डाक्टर गौतमकी श्रीमती सृष्टि तिवारी मात्र बाँच्न सफल भएकी छन् ।

काठमाडौँबाट चित्लाङतर्फ गइरहेको प्रदेश तीन ०१, २३ च ६९५८ नम्बरको कार सडकबाट खस्दा पाँच जनाको ज्यान गएको जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिए ।

कार बिहान ११.५५मा हिमचुली सेतो पहरास्थित सडकबाट पाँच सय मिटर तल खसेको थियो ।

डा. सृष्टि नेपाल क्यान्सर हस्पिटलमा क्यान्सर विशेषज्ञ हुन् । ३८ वर्षीय स्वर्गीय डा. गौतमले लाजिम्पाटस्थित आफ्नै घरमा नेशनल आस्थ्मा एलर्जी सेन्टर सञ्चालन गर्दै आएका थिए ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार ००:००  ९ : ४७ बजे