१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

शिक्षा सहकारीका सदस्यलाई ८ प्रतिशत व्याजदरमा स्वरोजगार कर्जा



बिर्तामोड-शिक्षा बहुउद्देश्यीय सहकारी संस्था बिर्तामोडले आठ प्रतिशत व्याजदरमा उद्यमी बन्न चाहने सदस्यका लागि कर्जा प्रदान गरेको छ । सानो लगानीबाट आत्मनिर्भर बन्न खोज्ने सदस्यका लागि शिक्षा बहुउद्देश्यीयले सहुलियत दरमा कर्जा प्रवाह गरेको हो ।

युवा तथा साना व्यवसायी स्वरोजगार कोषसँगको सहकार्यमा उद्यमशीलताको विकास गरी आत्मनिर्भर हुन चाहने सदस्यका लागि सहुलियत दरमा कर्जा प्रवाह गरिएको संस्थाले जनाएको छ ।

शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुब्रत न्यौपाने कृषि तथा सेवामूलक व्यवसाय गर्न चाहने संस्थाका सदस्यले आठ प्रतिशत व्याजदरमा कर्जा पाएको बताउँछन् । शिक्षाले नियमित बचत गरिरहेका सदस्य छानेर ८ प्रतिशतमा कर्जा दिने गरेको छ ।

संस्थाले उपलब्ध गराएको सहुलियत दरको कर्जा लिएर २२ जना सदस्य स्वरोजगार मात्र बनेका छैनन्, अरुलाई रोजगारी पनि दिएका छन् । चालु आर्थिक वर्षमा पनि उद्यमी बन्न चाहनेका लागि सहुलियत दरको कर्जा उपलब्ध हुने अध्यक्ष न्यौपानेले बताए ।

कोषसँगको सहकार्यमा शिक्षा बहुउद्देश्यीयले कृषि, पशुपालन तथा सेवा व्यवसायमा ७५ लाख रुपैयाँ लगानी गर्ने योजना बनाएको संस्थाका उपाध्यक्ष हेमराज मिश्र बताउँछन् ।

ऋण उप समितिका संयोजक समेत रहेका मिश्रले सानो लगानीबाट पेशा व्यवसाय गर्नेहरु सहुलियत दरको कर्जाबाट लाभान्वित भइरहेको बताए । सदस्यले ३६ महिनाभित्र सहुलियत दरको कर्जा तिरिसक्नु पर्ने व्यवस्था छ ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार ००:००  ८ : ४१ बजे