१५ आश्विन २०८०, सोमबार | Tue Oct 3 2023

विप्लवका नाममा सहकारीका कर्मचारीलाई धम्की दिइएकोप्रति जिल्ला सहकारी संघको आपत्ति



बिर्तामोड- सहकारीका विभिन्न सेवा केन्द्रमा कार्यरत कर्मचारीलाई विप्लव नेतृत्वको माओवादी कार्यकर्ताको नाममा धम्की दिइएकोप्रति झापा जिल्ला सहकारी संघले कडा आपत्ति जनाएको छ ।

सहकारी संस्थाबाट लिएको ऋण तिर्नु पर्दैन भन्ने मनसायसहित कर्मचारीलाई धम्क्याउने, कार्यालयमा तालावन्दीको चेतावनी दिने र कर्मचारीलाई मानसिक तनाव दिने जस्ता कार्य भइरहेको भन्दै संघले आपत्ति प्रकट गरेको हो ।

कुनै सदस्यलाई गरिएको ऋण लगानी अरु सयौँ सदस्यको बचत रकम रहेको स्पष्ट पार्दै संघले ऋण तिर्नू पर्दैन भनेर भ्रममा नपर्न सहकारी संस्थाका सबै ऋणी सदस्यलाई अपिल पनि गरेको छ ।

सहकारीका आम सदस्यको श्रम र पसिनाबाट आर्जित बचत रकम जोखिममा पार्ने गरी ऋण नतिर्न उर्दी जारी गर्ने कार्यशैली ठीक नभएको संघका अध्यक्ष गणेश ढकालले बताए ।

संघका तर्फबाट अध्यक्ष ढकाल र सचिव भावनीप्रसाद दंगालले विज्ञप्ति जारी गरेर सार्वजनिक रुपमा सहकारी संस्थामाथि निरन्तर भइरहेको प्रहारप्रति कडा आपत्ति जनाएका छन् ।

केही व्यक्ति तथा समूह र राजनीतिक दलका नाममा सहकारीमाथि भइरहेको प्रहार अविलम्व सच्याउन पनि संघले माग गरेको छ ।

ऋण नतिर्नेहरु कानुनत दण्डित हुनुपर्ने बताउँदै संघले भ्रम फैलाउने उपर कार्वाही गर्न स्थानीय प्रशासनसँग माग गरेको छ ।

यसअघि संघले गत जेठमा सहकारी संस्था, तिनका सञ्चालक र कर्मचारीमाथि आक्रमणको प्रयास गरिएको जनाउँदै आवश्यक सुरक्षा व्यवस्था मिलाउन स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको थियो ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहिबार ००:००  १ : ५१ बजे