बिर्तामोड-छैटौँ संस्करणको झापा गोल्डकपलाई यती ब्रुअरीले मुख्य प्रायोजन गर्ने भएको छ । गोल्डकप र यती ब्रुअरीबीच टाइटल स्पोन्सर गर्ने सहमति पत्रमा बुधवार हस्ताक्षर भएको हो ।
यती ब्रुअरीको कुनै एक उत्पादनले प्रतियोगितामा टाइटलका रुपमा स्थान पाउनेछ । काठमाडौँमा भएको सम्झौतामा झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेत र यती ब्रुअरीका तर्फबाट रिजनल मेनेजर शंकर लुइँटेलले हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा यती ब्रुअरीका ब्रान्ड एम्बेसडर प्रतिपल अधिकारी एसिसटेन्ट ब्रान्ड मेनेजर गोरखा श्रेष्ठ, झापा गोल्डकपका महासचिव गजेन्द्रबहादुर पौडेलको उपस्थिति रहेको थियो ।
प्रतियोगिता फागुन १९ गतेदेखि २८ गतेसम्म बिर्तामोड–३ मा रहेको डोमालाल राजवंशी रंगशालामा हुनेछ । रंगशालामा करिब १० हजार दर्शक बस्न सक्ने गरी बाँसको प्यारापिट निर्माणको तयारी सुरु गरिएको छ ।
अहिले मैदानको स्तरोन्नति धमाधम भइरहेको छ । छैटौँ संस्करणको झापा गोल्डकपको विजेताले नगद १३ लाख र उपविजेताले नगद सात लाख रुपैयाँ प्राप्त गर्नेछ ।
गोल्डकप सम्पन्न गर्न एक करोड ४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगितामा आयोजकको तर्फबाट झापा ११ फुटबल क्लब, विभागीयसहित नेपालका ए डिभिजन क्लब र विदेशी क्लबको सहभागिता रहनेछ ।