८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

सशस्त्र प्रहरीको फुटबल क्लबमाथि कारबाही



बिर्तामोड-झापा गोल्ड क्लबले सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लबलाई कारबाही गरेको छ। फागुन २१ गते बागमती युवा क्लबसँग भएको खेलमा एपीएफले खेलाडीको जर्सी तथा जर्सीको रङ सम्बन्धी नियम उल्लङ्घन गरेकाे जनाउँदै झापा गोल्ड क्लबले कारबाही गरेको हो ।

झापा गोल्डकप २०८० नियमावलीको २३ ख ले दिएको अधिकार प्रयोग गरी एपीएफमाथि कारबाही गरिएको झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेतले बताए । उनका अनुसार खेल मर्यादा विपरीतका गतिविधि गरेकाले एपीएफलाई ११ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय भएको छ ।

प्रतियोगिता नियमावलीको पूर्ण परिपालना गर्न र भविष्यमा यस किसिमका गल्तीहरू नदोहोर्याउन एपीएफलाई सचेत गराउँदै लिखित प्रतिबद्धता माग गर्ने पनि निर्णय भएको अध्यक्ष बस्नेतले जानकारी दिए।

झापा गोल्डकप व्यवस्थापनले एपीएफ फुटबल क्लबको टिम व्यवस्थापनलाई कारबाही सम्बन्धमा लिखित जानकारी पठाइसकेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार ००:००  ११ : १५ बजे