१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

डोमालाल राजवंशीको घर र सालिक बनाउने झापा गोल्डकपको घोषणा



बिर्तामोड– झापा गोल्डकप व्यवस्थापनले डोमालाल राजवंशी रङ्गशालाका जग्गादाता डोमालाल राजवंशीको सालिक र उनको परिवारका लागि घर बनाउने घोषणा गरेको छ ।

झापा गोल्डकपको यो घोषणासँगै राजवंशीको घर निर्माणका लागि दाताहरूले सहयोग गर्ने इच्छा व्यक्त गरेका छन् । विभिन्न क्षेत्रका व्यक्तिले राजवंशीको घर निर्माणका लागि सघाउने प्रतिबद्धता जनाएका हुन् ।

राजवंशीको घर निर्माणका लागि अहिलेसम्म सात लाख रूपैयाँकाे प्रतिबद्धता प्राप्त भएको झापा गोल्डकप व्यवस्थापनले जनाएको छ । झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेत आफैँले ५१ हजार उपलब्ध गराउने घोषणा गरेका छन् ।

युवा व्यवसायी राजीव धिमालले आफ्ना स्वर्गवासी पिता नरेशमान धिमालको स्मृतिमा एक लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । व्यवसायीकरण श्रेष्ठ र समिल राईले पनि राजवंशीको घर बनाउन २५-२५ हजार सहयोग गर्ने वचन दिएका छन् ।

अध्यक्ष बस्नेतको अभियानमा जोडिँदै सुधाकुमार र रविन श्रेष्ठले जनही ५१ हजार, सञ्चारकर्मी गणेशमान र इन्द्रजित मुखिया तथा भूमिका लिम्बुले पनि ११ हजार सहयोग गर्ने घोषणा गरेका छन् ।

क्षमादेवी युपीभिसीका सञ्चालक गणेश पौडेलले घर निर्माणमा लाग्ने झ्याल सहयोग गर्ने वचन दिएका छन् । दाताको परिवारलाई उपेक्षा गरिएको गुनासोसहित यसअघि राजवंशी विकास प्रतिष्ठानले झापा गोलकप आयोजक समिति र बिर्तामोड नगरपालिकालाई ज्ञापन पत्र बुझाएको थियो ।

राजवंशी विकास प्रतिष्ठानका सचिव इन्द्रसिंह राजवंशीका अनुसार घर निर्माणका लागि राजवंशी समुदायको समेत सहयोग जुटाउन थालिएको छ । झापा गोल्डकपले स्वर्गीय डोमालालको स्केच सार्वजनिक गर्दै उनको सालिक पनि बनाइदिने घोषणा गरेको छ ।

झापा गोल्डकपको छैठौँ संस्करण उद्घाटनका अवसरमा डोमालाल राजवंशीको परिवारलाई समाजसेवी विवेक प्रसाई र संगीता प्रसाईद्वारा उपलब्ध गराइएको १ लाख रुपैयाँ झापा गोल्डकपका तर्फबाट हस्तान्तरण गरिएको थियो ।

डोमालाल राजवंशीले रङ्गशाला भएको ठाउँमा करिब १३ बिघा जग्गा दान गरेका थिए । अहिले भूमिहीन बनेका डोमालालकी छोरी सम्पत्ति, नातिहरू भीम र छवि राजवंशी रङ्गशालाको पश्चिम पट्टि झुप्रो बनाएर बसेका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार ००:००  ८ : ३५ बजे