२८ जेष्ठ २०८०, आइतबार | Sun Jun 11 2023

भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ



झापा-भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन् । नेता रिजाललाई काठमाडौंस्थित निवासबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानका लागि नेता रिजाललाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीले बताए ।

नेपालमा रहेका भुटानी शरणार्थीको अधिकारको पक्षमा लामो समयदेखि पैरवी गर्दै आएका रिजाल बिचौलियाको बयानको आधारमा पक्राउ परेका हुन् ।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गरेको प्रकरणमा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

राजनीतिक एवम् मानवअधिकार अभियन्तासमेत रहेका रिजाल भुटानी शरणार्थीका सर्वोच्च नेता मध्येका एक हुन् । झापामा बस्दै आएका रिजाल साताअघि काठमाडौँबाट फर्किएका थिए ।

पुन काठमाडौँ गएका रिजाललाई प्रहरीले समातेको हो । झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले प्रहरीले बयानका लागि बोलाएपछि नेता जिराल काठमाडौँ गएको हुनसक्ने बताए ।

झापा र मोरङका शिविरमा रहेका ६ हजार भन्दाबढी भुटानी शरणार्थीको समस्या समाधान गर्न माग गर्दै आएका रिजाल लामो समयदेखि स्वदेश फिर्ती आन्दोलनको पक्षमा थिए ।

नेता रिजालको मागका आधारमा गृह मन्त्रालयले भुटानी शरणार्थी समस्या समाधानका लागि भन्दै २०७६ जेठ ३० मा बालकृष्ण पन्थी नेतृत्वमा कार्यदल गठन गरेको थियो ।

प्रहरीले नेपाल हज समितिका अध्यक्ष शमशेर मियालाई पनि सिंहदरबार परिसरबाटै पक्राउ गरेको छ । नक्कली शरणार्थी प्रकरणमा मुछिएका मियाँलाई पक्राउ गरी काठमाडौं प्रहरी परिसर लगिएको छ ।

यो प्रकरणमा यसअघि पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँड, पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायत १५ जना पक्राउ परिसकेका छन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहिबार ००:००  ५ : ५६ बजे