१२ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025

विद्यालयमा जोखिमयुक्त सामग्री प्रयोग नगर्न बिर्तामोड नगरपालिकाको निर्देशन



झापा-बिर्तामोड नगरपालिकाले विद्यालयमा सञ्चालन हुने प्रदर्शनी, वार्षिक कार्यक्रम तथा स्थापना दिवस लगायतमा कार्यक्रमलाई आकर्षक बनाउने नाममा विभिन्न प्रकारका विदेशी रसायन, विस्फोटक पदार्थ र जाेखिमयुक्त सामग्रीको प्रयोग नगर्न सरोकारवालालाई निर्देशन दिएको छ ।

नगरपालिकाले बुधबार सूचना जारी गरी बालबालिकामा त्रास फैलिने तथा शारीरिक र मानसिक जोखिम हुने प्रकारका सामग्रीको प्रयोग नगर्न नगर क्षेत्रभित्रका सबै विद्यालयहरूलाई निर्देशन दिएको हो ।

सम्बन्धित निकायबाट अनुमति नलिई विस्फोटक पदार्थ रसायन र जोखिमयुक्त सामग्रीहरू प्रयोग गर्दा त्यसबाट उत्पन्न हुने मानवीय तथा भौतिक क्षतिको जिम्मेवार सम्बन्धित विद्यालय हुनुपर्ने बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपानेले बताए ‌।

मङ्गलबार झापाको बिर्तामोडस्थित बेल्स मोडल स्कूलमा बेलुन फुलाउने मेसिन विस्फोट हुँदा एकजना भारतीय नागरिक गम्भीर घाइते भएका थिए । घटनापछि बिर्तामोड नगरपालिकाले यस्ता विषयमा सतर्क हुन सबै विद्यालयको ध्यानाकर्षण गराएको हो ।

विद्यालयमा जोखिम हुने यस प्रकारका सामग्रीहरूको प्रयोग नगर्न सम्बन्धित विद्यालयहरूलाई आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले जानकारी दिए ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार ००:००  ४ : ३१ बजे