काँकडभिट्टा-भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले विभिन्न चारवटा विधामा पुरस्कृत गर्ने गरी प्रतिभा छनोट गरेको छ । प्रतिष्ठानको सञ्चालक समितिको बैठकले प्रतिभा छनोट गरेको हो ।
प्रतिष्ठानले भानु प्रतिभा पुरस्कारका लागि नेपाली महिला क्रिकेट टीमकी कप्तान रुविना क्षेत्रीलाई छानेको छ । क्षेत्री मेचीनगरकी स्थायी बासिन्दा हुन् । सञ्चारकर्मी भूमिका लिम्वूलाई उत्कृष्ट सञ्चारकर्मीका रुपमा छनोट भएकी छन् ।
हेमराज–मेदनी खरेल पुरस्कारका लागि साहित्यकार लक्ष्मी अच्युत ढुंगानालाई छानिएको छ । कृष्ण–पवित्रा उप्रेती प्रतिष्ठान पुरस्कारबाट ज्येष्ठ नागरिक वडा समिति मेचीनगर–६ छनोटमा परेको हो ।
प्रतिष्ठानका कार्यवाहक अध्यक्ष डिल्लीराम घिमिरेले २१० औँ भानु जयन्तीको अवसर पारेर छनोट भएका प्रतिभालाई पुरस्कार वितरण गर्ने तयारी भएको बताए । खेल पुरस्कारको राशि २१ हजार छ ।
अरु तीनवटा पुरस्कारको राशि जनही ११ हजार रुपैयाँ रहेको कार्यवाहक अध्यक्ष घिमिरेले जानकारी दिए ।