१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

२२ हजार किसानलाई नौ करोड ६५ लाख रुपैयाँ अनुदान



बिर्तामोड-कोसी प्रदेश सरकारले २२ हजार दुग्ध किसानलाई नौ करोड ६५ लाख रुपैयाँ अनुदान वितरण गरेको छ । उत्पादनका आधारमा अनुदान दिने नीति अन्तरगत सरकारले किसानलाई अनुदान रकम उपलब्ध गराएको हो ।

आर्थिक वर्ष २०७९–८० मा प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले दुधमा प्रतिलिटर दुई रुपैयाँ अनुदान दिने नीति अगाडि सारेका थिए । प्रोत्साहनको यो नीतिले धेरै दुग्ध किसान लाभान्वित भएका छन् ।

कार्यक्रम अनुसार गतवर्ष झण्डै २२ हजार किसानलाई सरकारले नौ करोड ६५ लाख ८७ हजार २०० रुपैयाँ अनुदान रकम भुक्तानी गरेको प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका अनुसार धनकुटा, तेह्रथुम, झापा, इलाम, मोरङ र सुनसरीका किसानले ४ करोड ८२ लाख ९३ हजार ६ सय लिटर दुध उत्पादन गरेका थिए ।

अनुदानको कार्यक्रम भने औपचारिक क्षेत्रमा दुध बिक्री गर्ने किसानहरूलाई मात्र उपलब्ध गराउने सरकारको नीति छ ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार ००:००  ८ : ३३ बजे