२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

मेची प्रादेशिक अस्पतालको प्रसुति सेवा बन्द !



बिर्तामोड– दुईजना विशेषज्ञ चिकित्सक एकैपटक बिदामा बसेपछि झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको प्रसुति सेवा प्रभावित भएको छ ।

अस्पताल प्रशासनले सेवा प्रभावित हुने गरी चिकित्सकको बिदा स्वीकृत गरेका कारण केही दिनदेखि प्रस्तुति सेवा अवरुद्ध भएको हो ।

अस्पताल प्रशासनले स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर एलिजा गौतम र डाक्टर शिवेश चौधरीको बिदा एकैपटक स्वीकृत गरेको थियो ।

सेवा प्रभावित हुने जान्दा जान्दै दुबै चिकित्सकलाई बिदामा बस्न अनुमति दिइएपछि अस्पतालको स्त्री तथा प्रसुति रोग विभागमा ताला लागेको छ ।

आकस्मिक प्रसुतिका लागि आएका महिला विशेषज्ञ चिकित्सक नभएपछि थप जोखिम मोलेर अन्यत्र निजी अस्पतालमा जान बाध्य भएका छन् ।

सुत्केरीका लागि प्रादेशिक अस्पताल पुगेकी झापाको कनकाई-४ सुरुङ्गाकी मीना बस्नेतले डाक्टर नभएपछि फर्किनु परेको बताइन् ।

कनकाई नगर अस्पतालमा नियमित गर्भजाँच गरेकी उनी परिवारका सदस्यसहित सुत्केरी गराउन अस्पताल पुगेकी थिइन् ।

सुत्केरी व्यथाले च्यापेकी उनलाई सरकारी अस्पतालको सेवा नपाएपछि तत्काल झापाको दमकस्थित आम्दा अस्पताल लगिएको छ ।

प्रादेशिक अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर रामबाबु खड्काले दुवै चिकित्सक एकैपटक बिदामा बसेपछि सेवा प्रभावित भएको स्वीकार गरेका छन् ।

डाक्टर खड्काले वैशाख १२ गतेदेखि १९ गतेसम्म अस्पतालको प्रसुति सेवा बन्द रहने बताए । अस्पताल प्रशासनले सोही व्यहोराको सूचना टाँसेर सेवा बन्द रहने जनाइसकेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहिबार ००:००  ९ : १५ बजे