बिर्तामोड-नगरपालिकाले कर वृद्धि गरेको जनाउँदै आन्दोलनको चेतावनी दिएका बिर्तामोडमा क्रियाशील राजनीतिक दलहरुले बल्ल अध्ययन समिति बनाएका छन् ।
कर वृद्धिकाे विषयमा यसअघिको तुलनात्मक अध्ययन र अहिले बढाइनुकाे वस्तुनिष्ठ कारण नखोजी दलहरुले यसैसाता नगरपालिका कार्यालय घेराउ गरी अविलम्ब कर खारेजीको माग गरेका थिए ।
नगरपालिकालाई चेतावनी दिएर फर्किएका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका राजनीतिक दलहरुले शुक्रबार अध्ययन समिति बनाएका हुन् ।
नेकपा एमाले बाहेकका दलहरूको सहभागितामा बनाइएको समिति पाँच सदस्यीय छ । इन्जिनियर रोशन सुवेदीको संयोजकत्वमा बनाइएको समितिमा जेवी जवेगु, प्रकाश सिटौला, कृष्ण पौडेल र अर्जुन उप्रेती सदस्य छन् ।
करकाे ज्ञान भएका व्यक्तिहरूको सहभागितामा समिति बनाइएको र त्यसले आवश्यक अध्ययनपछि सुझाव दिने राप्रपा नगर अध्यक्ष रञ्जु प्याकुरेलले बताइन् ।
समितिको अध्ययनपछि मात्रै दलहरूको आन्दोलन प्रक्रिया अगाडि बढ्ने भएको छ । दिएको समय सीमाभित्र नगरपालिकाले आफ्नो निर्णय नसच्याए सर्वदलीय रुपमा संघर्ष गर्ने दलहरूको तयारी छ ।