शरणामती- श्रमको ज्याला नपाएपछि झापा गाउँपालिका–२ स्थित कुवाडीदेवी टी स्टेटका चिया श्रमिक आन्दोलित भएका छन् । चिगा बगानको काम छोडेर उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
चिया बगान व्यवस्थापनले चार महिनादेखि ज्याला नदिएका कारण आन्दोलनमा उत्रिनु परेको चिया श्रमिक सीता माझीले बताइन् । ‘बगान व्यवस्थापनले झुक्याएर हामीलाई आन्दोलन गर्न बाध्य पारेको हो’, माझीले भनिन् ।
ज्याला नपाएका कारण दैनिक चलाउन श्रमिकलाई मुस्किल परेको छ । बगानमा निर्भर चिया श्रमिक अन्यत्र काममा पनि जान सकेका छैनन् । चिया श्रमिकका अगुवा जगन्नाथ पौडेलले ज्याला नपाएसम्म आन्दोलन नरोकिने बताए ।
कुवाडी देवी टी स्टेटमा करिव सय जना चिया श्रमिक ज्यालादारीमा काम गर्छन् । तर, उनीहरु कसैले पनि ज्याला पाएका छैनन् । बगान व्यवस्थापनले झण्डै ४० लाख रुपैयाँ उनीहरुलाई भुक्तानी दिन बाँकी छ ।
टी स्टेटका सञ्चालक सुरेश अग्रवालले चिया श्रमिकलाई ज्याला भुक्तानी दिन बाँकी रहेको बताए । ‘आर्थिक वर्षको अन्त्यमा ज्याला भुक्तानी दिने भनेको थिएँ’, सञ्चालक अग्रवालले भने, ‘उहाँहरु अचानक आन्दोलित हुनु भयो ।’
अग्रवालले आन्दोलन स्थगित गर्न चिया श्रमिकलाई अपिल पनि गरेका छन् । उनले एक दुई दिनभित्रै चिया श्रमिकको ज्याला भुक्तानी दिइने बताए ।