९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

अब जेलबाहिर बसेरै सजाय कटाउन पाइने



झापा–असल चालचलन भएका कैदीले अब घरमै बसेर कैद सजाय घटाउन पाउने भएका छन् ।कैदीलाई निगरानीमा जेल बाहिरै राख्ने सुधारात्मक दण्ड प्रणाली मानिएको प्यारोलको कार्यान्वयनमा नेपालमा पनि सुरु भएको हो ।

गत बुधबार बसेको प्यारोल बोर्डले एक सय ४३ जना कैदीलाई छाड्न सिफारिस गरेको छ ।महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलको अध्यक्षतामा बसेको बैठकले मापदण्ड पुगेका कैदीलाई प्यारोलको सुविधा दिन सिफारिस दिएको हो ।

दुई तिहाई कैद सजाय भुक्तान गरिसकेका र असल चालचलन भएका कैदीले जेलका अधिकारीको सम्पर्कमा रही बाहिरै बस्ने सुविधा प्यारोल हो । तर, नकारात्मक सूचीमा रहेका कैदीले भने यो सुविधा पाउने छैनन् ।

करिब एक हजार कैदीले प्यारोल सुविधा पाउने सम्भावना रहेको कारागारका व्यवस्थापन विभागका निर्देशक कमलप्रसाद पाण्डेले बताए ।

‘पहिलो चरणमा सबै कागजपत्र मिलेका एक सय ४३ कैदीलाई प्यारोल सुविधा दिने निर्णय प्यारोल बोर्डबाट भएको छ,’ उनले भने,‘ अब मापदण्ड पुगेका अन्यले पनि क्रमशः यो सुविधा पाउँछन् ।’

जेलबाहिर बसेर अपराधमा नलाग्ने निष्कर्षका आधारमा जेल प्रशासन तथा प्यारोल बोर्डले कैदीहरुलाई समाजमा बस्न दिने सुविधा दिने तयारी गरेको हो ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार ००:००  ८ : ५८ बजे