१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

शीर काटियोस् प्रचण्डसँग झुक्दिन : एमाले अध्यक्ष ओली




पोखरा-नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कहिल्यै नझुक्ने बताएका छन् । ‘मैले दुर्गा प्रसाईँलाई पक्राउ गर्न प्रचण्ड गुहारेको भनेर प्रचार भइरहेको छ,’ उनले प्रचण्डप्रति ईंगित गर्दै भने, ‘काटिएर जाओस् यो शिर, त्यस्ताहरूसँग शिर झुक्दैन । भोकै मर्छ, बाघ घाँसका त्यान्द्रा टिप्न जाँदैन ।

ओलीले देशमा राजनीतिक रूपमै डकैती भइरहेको आरोप लगाए । भन्सार र एयरपोर्टबाट कर छलेर तस्करी भइरहेको र सरकारले कारबाही गर्न नसकेको उनको जिकिर छ ।

‘भन्सारमा कर उठ्दैन, तस्करी मात्रै हुन्छ । एयरपोर्टबाट क्विन्टल सुन बरामद भयो, ६० किलोमा झर्‍यो’ अघि भने, ‘डकैती भइरहेको छ देशमा । साढे ९ केजी सुन बरामद भएको थियो, अहिले २ किलो होला । त्यहीँबाट खाए, सिद्ध्याए ।’

ओलीले देश टाट पल्टिने अवस्थामा पुगेको बताए । ‘विगत दुई वर्षमा देशको अवस्था गम्भीर छ । बनाउन धेरै समय लाग्छ, ध्वस्त बनाउन समय नलाग्ने रहेछ । आर्थिक रूपमा टाट पल्टिने अवस्था छ’, उनी भन्छन्, ‘विदेशमा गएका नानीबाबुले पठाएका रेमिट्यान्सले मात्रै देश चलेको छ । अन्त डामाडोल छ ।’

उनले एमालेलाई बदनाम गराउन आफूमाथि अनर्गल आरोप लगाएको बताए । ‘कहिले कम्बोडियामा लगानी गरेको भन्छन् । कहिले ठाउँ ठाउँमा जग्गा र महल छ भन्छन्,’ उनले भने, ‘यो सबै एमाले सिध्याउन गरिएको दुष्प्रचार हो । कम्बोडियामा मैले टेलिकममा लगानी गरेको रहेछु भने पत्ता लगाउनुस्, १ हजार थपेर तपाईँलाई नै दिन्छु ।’

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार ००:००  ४ : ४६ बजे