बिर्तामोड-वीरता लेडी जेसीज पूर्व अध्यक्ष क्लबले खेलकुद क्षेत्रमा उत्कृष्ट योगदान गर्ने महिलालाई उत्कृष्ट नारी सम्मान २०८० द्वारा सम्मान गर्ने भएको छ । लेडी जेसीजको पूर्व अध्यक्ष क्लबले यसपटक खेलकुद विधामा उत्कृष्ट नारी सम्मान प्रदान गर्न लागेको हो ।
क्लबद्वारा आइतबार सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार एथलेटिक्सबाट ओलम्पिक खेलकुद प्रतियोगितामा नेपालबाट भाग लिने पहिलो महिला धावक मेनुका राउतलाई उत्कृष्ट नारीका रुपमा सम्मान गर्न लागिएको छ ।
११४ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर राउतलाई उत्कृष्ट नारीकाे सम्मान प्रदान गरिने वीरता लेडी जेसीज पूर्व अध्यक्ष क्लबकी अध्यक्ष कञ्चना सिटौलाले बताइन् । उनका अनुसार उत्कृष्ट नारी प्रतिभा छनोट गर्न झापाका अग्रज सामाजिक व्यक्तित्व लोकराज ढकालको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो ।
समितिमा वीरता जेसीजका पूर्व अध्यक्ष युवराज दाहाल र नारी सञ्चार गृह झापाकी पूर्व अध्यक्ष अम्बिका भण्डारी सदस्य रहेका थिए । छनोट समितिका तर्फबाट पत्रकार सम्मेलनमा पूर्व अध्यक्ष भण्डारीले उत्कृष्ट नारी प्रतिभाको नाम सार्वजनिक गरेकी हुन् ।
मेचीनगर-७ निवासी राउतले सन् १९८८ मा दक्षिण कोरियाको राजधानी सिओलमा आयोजना भएको विश्व ओलम्पिकमा नेपालको राष्ट्रिय ध्वजावाहक खेलाडी भएर सगौरव भाग लिएकी थिइन् । २०२१ देखि वीरता लेडी जेसीजले पूर्व अध्यक्ष क्लबमार्फत उत्कृष्ट नारी सम्मानको कार्यक्रम सुरु गरेको थियो ।
विभिन्न क्षेत्रमा रहेका अब्बल महिलाको मेहनत र योगदानको कदर स्वरूप पूर्व अध्यक्ष क्लबले निरन्तर उत्कृष्ट नारी सम्मान प्रदान गर्दै आएको पूर्व अध्यक्ष स्वस्तिका आचार्यले बताइन् ।पूर्व अध्यक्ष क्लबको आयोजना र झापाका करिब ५० भन्दाबढी महिला संघ संस्थाको सह आयोजनामा याे कार्यक्रम सञ्चालन हुँदै आएको छ ।
झापाभरि रहेका जेसीज शाखाहरू पनि यो कार्यक्रमको सह आयोजक रहने गर्छन् । गतवर्ष नागरिक उड्डयनकाे क्षेत्रमा आफ्नो पहिचान स्थापित गरेकी महिला पाइलट जीना लिङ्देनलाई उत्कृष्ट नारी सम्मान २०७९ द्वारा सम्मान गरिएको थियो ।
पूर्व अध्यक्ष क्लबकी निवर्तमान अध्यक्ष राधा सुब्बाले पूर्व अध्यक्षहरूको सक्रिय योगदानका कारण यो कार्यक्रमले निरन्तरता पाइरहेको बताइन् ।
खेलकुदका माध्यमबाट आफूलाई स्थापित गर्दै राष्ट्रको गरिमालाई समेत उँचो राख्न सहयोग गर्ने महिला खेलाडीलाई यसवर्ष सम्मान गर्न लागिएको वीरता लेडी जेसीजकी अध्यक्ष मेनुका ओलीले बताइन् ।
कार्यक्रमको सञ्चालन निवर्तमान अध्यक्ष संगीता गिरीले गरेकी थिइन् ।