पाँचथर- असार २ गतेको बाढी–पहिरोले पाँचथरको फालेलुङ गाउँपालिकामा मात्रै २१ करोड भन्दा बढीको क्षति भएको छ । भौतिक संरचना र कृषियोग्य जमिनमा बाढीले क्षति गरेको हो ।
बाढी–पहिरोले २१ करोड ३७ लाख ८५ हजार बराबरको क्षति भएको क्षति अनुगमन समितिका संयोजक रणजित आङ्बुहाङले जानकारी दिए । ‘प्राविधिकहरूको सहयोगमा क्षतिको विवरण निकालिएको उनले बताए ।
हेंवा खोलामा आएको बाढीले सात करोड बराबरको दुई वटा पक्की पुल भत्काएको छ । थप अर्को पक्की पुलमा आंशिक क्षति हुँदा मर्मतका लागि दुई करोड आवश्यक पर्ने प्राविधिकले जनाएका छन् ।
बाढीले चार वटा झोलुङ्गे पुल भत्किएका छन् । जसमध्ये ६० लाख लागतको एउटा पुल पूर्णरूपमा भत्किएको छ । थप तीन वटा पुल आंशिक रूपमा भत्किँदा ७५ लाख क्षति भएको हो ।
सिंचाईका लागि निर्माण गरिएका आठ वटा कुलो भत्किँदा तीन करोडको क्षति भएको छ । एउटा खानेपानी आयोजना पहिरोले बगाउँदा ७५ लाख र तीन किलोमिटर बाटो भत्किँदा ४५ लाखको क्षति भएको अनुमान छ ।
बाढीले चार करोड बराबरको आठ वटा कजवे बगाएको छ ।