१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

एक थान इँटा माग्दै झापा नाटक घरको टोली काठमाडौँमा



काठमाडौँ-बहुजातिय बहुभाषिक सांस्कृतिक संग्रहालय सहितको झापा नाटक घर निर्माणका लागि अभियन्ताको टोली काठमाडौँ आएको छ । एक थान इँटा माग्दै झापाली कलाकार सहितको टोली काठमाडौँ आएको हो ।

निर्माणाधीन नाटक घरले पूर्णता पाउन नसकेपछि आर्थिक स्रोत व्यवस्थापनको उद्देश्य राखेर आफूहरु एक इँटा अभियानका लागि काठमाडौँ आएको क्षितिय नाट्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष माधव कल्पितले बताए ।

प्रतिष्ठानको अग्रसरता र युवा रंगकर्मी कल्पितको परिकल्पनामा झापाको बिर्तामोड–१ देवीपञ्चकन्या उत्तरमा बहुजातिय बहुभाषिक सांस्कृतिक संग्रहालय सहितको झापा नाटक घर निर्माणाधीन अवस्थामा छ ।

झापा नाटक घर निर्माणका लागि एक इँटा अभियानदेखि एकधुर जग्गा खरिदसम्मको प्रस्ताव अगाडि सारिएको अध्यक्ष कल्पितले बताए । ‘आर्थिक अभावका कारण झापा नाटक घरको निर्माण कार्यले पूर्णता पाउन सकेको छैन्’, अध्यक्ष कल्पितले भने ।

एक इँटा अभियानमार्फत सहयोग जुटाएर प्रतिष्ठानले पहिलो चरणमा दुई करोड ५० लाख रुपैयाँको लागतमा नाट्य कला मन्दिर बनाइरहेको छ । एकधुर भूमि दानबाट प्रतिष्ठानको नाममा हालसम्म १४५ धुर जमिन जुटिसकेको छ ।

करिव ५० लाख जति आर्थिक स्रोत व्यवस्थापन गर्न सके झापा नाटक घरले पूर्णता पाउने अध्यक्ष कल्पितले बताए । संघीय सरकारको समेत ध्यानाकर्षण होस् भन्ने उद्देश्य राखेर आफूहरु काठमाडौँ आएको कल्पित बताउँछन् ।

केन्द्रीय कोषाध्यक्ष मुना प्रसाईका अनुसार झापा नाटक घरको निर्माणपछि बुहजातिय बहुभाषिक सांस्कृतिक संग्रहालय निर्माणको योजना बनाइएको छ । ‘बहुवर्षे योजनाका रुपमा यसलाई अगाडि बढाउने योजना बनाएका छौँ’, कोषाध्यक्ष प्रसाईले भनिन् ।

इन्द्रेणीमा गयो कलाकारको टोली

एक थान इँटा अभियान बोकेर आएको झापा नाटक घरको टोली मंगलवार चर्चित लोक दोहोरी कार्यक्रम इन्द्रेणीमा पुगेको छ ।

इन्द्रेणी समाजका प्रमुख कृष्ण कँडेलले भव्य स्वागत गर्दै ४१ हजार सहयोग गरेका छन् । अध्यक्ष कँडेलले निकट भविष्यमा झापा नाटक घरमा पुगेर विशेष कार्यक्रम आयोजना गरी १० लाख रुपैयाँ सहयोग जुटाउने घोषणा गरेको प्रतिष्ठानकी नृत्य विभाग प्रमुख सविता रेग्मीले बताइन् ।

कलाकारको टोलीले प्राइम टेलिभिजनको कार्यालय पुगेर पत्रकार ऋषि धमलालाई भेट गर्दै एक थान इट्टा मागेको छ । पत्रकार धमलाले पनि सहयोगको बचन दिएका छन् ।

कलाकारको टोलीले राजनीतिक दलका नेता, उच्चपदस्थ व्यक्तित्वसँग भेट गरी आफ्नो योजना अगाडि सार्ने जनाइएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार ००:००  ६ : ३३ बजे