बिर्तामोड-सुवास राउत स्वदेश फर्काऔँ अभियानले बचेको ‘ब्लड मनी’ विद्यालयलाई हस्तान्तरण गरेको छ । राउतलाई मृत्युदण्डबाट बचाउन झापाको कनकाईमा अभियानमार्फत ब्लड मनी संकलन गरिएको थियो ।
अभियानमार्फत २० लाख २४ हजार ६५० रुपैयाँ संकलन भएको सुवास राउत स्वदेश फर्काऔँ अभियानका संयोजक गोविन्दप्रसाद पौडेलले बताए । संकलित रकममध्ये ब्लड मनीबापत १५ लाख रुपैयाँ खोटाङको ऐसेलुखर्कका लामाकाजी राईको परिवारलाई बुझाइएको छ ।
खर्च कटाएर बाँकी रहेको दुई लाख पचास हजार रुपैयाँ कनकाई बालशिक्षा केन्द्रलाई हस्तान्तरण गरिएको हो । कनकाई–४ का पूर्व वडाध्यक्ष समेत रहेका संयोजक पौडेलले आइतवार पत्रकार सम्मेलन गरी केन्द्रकी प्रधानाध्यापक मीनाकुमारी बस्नेतलाई चेक हस्तान्तरण गरेका छन् ।
पाँच वर्षदेखि सञ्चालन भइरहेको विद्यालयमा दुई कक्षासम्म पढाई हुन्छ । अहिले एकसय ५० जना विद्यार्थी केन्द्रमा पढिरहेको प्रधानाध्यापक बस्नेतले बताइन् । प्राप्त भएको रकमबाट विद्यालयको अफिस कोठा बनाउने योजना बनाइएको छ ।