५ आश्विन २०८०, शुक्रबार | Fri Sep 22 2023

संखुवासभा कारागारमा कैदी मृत्यु प्रकरण : रडले घोचेर मारिएको निष्कर्ष



संखुवासभा-कारागार प्रशासनको चरम यातनाका कारण दुई जना कैदी बन्दीको मृत्यु भएको निष्कर्ष निकालिएको छ ‌।

स्थलगत अध्ययनका लागि पुगेको मानव अधिकारवादीको टोलीले यस्तो निष्कर्ष निकालेको हो ।

साउन २४ गते बिनाेद तोलाङ्गी र आकाश बलामी नामका दुई कैदीबन्दीको कारागारभित्र मृत्यु भएको थियो ।

कारागारभित्र कुटपिट गरेर हत्या गरेपछि बिहान मात्र उनीहरुलाई अस्पताल लगिएको अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका कोशी प्रदेश प्रमुख सोमराज थापाले बताए ।

थापाका अनुसार कारागारबाट भाग्ने प्रयास गरेपछि उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरीले कुटेको प्रारम्भिक निष्कर्ष निकालिएको छ ।

प्रहरीले यातना दिने क्रममा रड र लाठी प्रहार गरेको पाइएको छ । कैदी बन्दीको खुट्टामा रड खोपिएको भेटिएको हो ‌।

राष्ट्रिय मानव अधिकार आयोग प्रदेश कार्यालय विराटनगरका प्रमुख पवनकुमार भट्ट राज्यका निकायको गम्भीर लापरबाही र चरम यातनाका कारण कैदीबन्दीको ज्यान जानु दुखद भएको बताउँछन् ।

घटनापछि प्रहरीले पनि अनुसन्धान गरिरहेको छ । दुई जनाविरुद्ध किटानी जाहेरी परे पनि आठ जनामाथि अनुसन्धान भइरहेको संखुवासभाका प्रहरी प्रमुख वीरेन्द्र गोदारले जानकारी दिए ‌।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहिबार ००:००  ७ : २६ बजे