बिर्तामोड-बिर्तामोड नगरपालिकाले बिर्ता बजारमा निर्माणाधीन सामुदायिक भवनसहितको व्यवसायिक कम्प्लेक्समा कमसल इँटाको प्रयोग नगर्न निर्माण कम्पनीलाई निर्देशन दिएको छ ।
सम्झौताविपरीत भवनको दोस्रो तलामा चार नम्वर इँटाको प्रयोग भएको पाइएपछि नगरपालिकाले निर्माण कम्पनीको कार्यशैलीमाथि प्रश्न उठाउँदै यस्तो निर्देशन दिएको हो ।
नगर प्रमुख पवित्रा महतारा प्रसाईले भवनको स्थलगत अनुगमन गरी सम्झौताविपरीत प्रयोग भएका इँटाको वाल भत्काउन निर्देशन दिएकी छन् । नगर प्रमुखको निर्देशनपछि निर्माण कम्पनीले वाल भत्काएको छ ।
गुणस्तरहीन इँटाको प्रयोग भएको पाइएपछि नगर प्रमुखको निर्देशनमा वाल भत्काइएको र निर्माण कम्पनीले सम्झौता अनुसार नयाँ वाल बनाउने नगरका प्रवक्ता अग्निप्रसाद पाण्डेले बताए ।
नगर प्रमुख प्रसाईसँगै उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने, वरिष्ठ योजना अधिृकत जय तिम्सिना, वडाध्यक्षहरु र कार्यपालिका सदस्यले संयुक्तरुपमा भवनको अनुगमन गरेका हुन् ।
वडाध्यक्ष मदन बुढाथोकीले वडाका तर्फबाट पनि समिति बनाएर नियमित अनुगमन गरिने बताए । अनुगमनपछि निर्माणस्थलमा रहेको कमसल इँटा फिर्ता गर्न लगाइएको छ ।
निर्माण कम्पनीका सुपरभाइजर सुदीप चौँलागाईले कमसल इँटा प्रयोग भएको स्वीकार गर्दै गल्ती सच्याउने बताए । उनले यसअघि गुणस्तरीय इँटा प्रयोग गरेको दावी गरे ।
वडाध्यक्ष बुढाथोकीका अनुसार भवनको करिव ६० प्रतिशत काम सकिएको छ । तर, पूर्व निर्धारित सहमतिभित्र निर्माण कम्पनीले काम सक्ने अवस्था छैन् । सम्झौताको म्याद असोज ६ गते सकिँदैछ ।
पाँच करोड ५६ लाख रुपैयाँको लागतमा निर्माण भइरहेको व्यवसायिक कम्प्लेक्सको भूइँ तलामा अन्डर ग्राउन्डसहितको पार्किङ, पहिलो तलामा पसल व्यापारका लागि सटर र माथिल्लो तलामा सामुदायिक भवन हुनेछ ।