४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026

बिर्तामोड चिल्ड्रेन अस्पतालमा बैशाख ७ देखि निःशुल्क स्वास्थ्य शिविर 



झापा-बिर्तामोडस्थित बिर्तामोड चिल्ड्रेन अस्पतालले नयाँ वर्ष २०८३ को अवसरमा बालबालिकाका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । 

अस्पतालले शुक्रबार पत्रकार सम्मेलन गरी बैशाख ७ देखि २१ गतेसम्म नवजात शिशुदेखि बालबालिकासम्मका लागि स्वास्थ्य परीक्षण तथा उपचार सेवा निःशुल्क गरिने जनाएको हो ।

अस्पतालकी अध्यक्ष लीला मैनालीका अनुसार शिविर अवधिभर ओपीडी सेवा पूर्ण रूपमा निःशुल्क हुनेछ भने ल्याबबाहेकका अन्य परीक्षणमा २० प्रतिशतसम्म छुट दिइनेछ । ‘औषधिमा पनि विशेष छुटको व्यवस्था गरिएको छ’, अध्यक्ष मैनालीले भनिन् ।

ग्रामीण तथा विपन्न क्षेत्रबाट आउने सेवाग्राहीलाई स्थानीय तहको सिफारिसमा शिविरपछि पनि २० प्रतिशतसम्म छुट उपलब्ध गराइने अस्पतालका बाल रोग विशेषज्ञ डाक्टर रुपक आचार्यले बताए । शिविरमा बालरोग तथा पोषणसम्बन्धी समस्याको पहिचान र उपचारका लागि अनुभवी चिकित्सकको टोली परिचालन गरिने जनाइएको छ । 

शिविरमा अत्याधुनिक जापानिज प्रविधियुक्त उपकरणमार्फत बालरोग, पोषणसम्बन्धी समस्या तथा जटिल स्वास्थ्य अवस्थाको पहिचान गरी अनुभवी चिकित्सक र नर्सिङ स्टाफबाट सेवा प्रदान गरिने डा. आचार्यले बताए ।

बालबालिकालाई सहज पहुँचमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको अस्पतालकी प्रमुख कार्यकारी अधिकृत डा. सुजता मैनालीले बताइन् । 

अस्पतालले स्थानीय तह तथा संघसंस्थासँग समन्वय गरी आवश्यक परे अन्य स्थानमा पनि यस्ता स्वास्थ्य शिविर सञ्चालन गर्न सकिने जनाएको छ । पत्रकार सम्मेलनमा अस्पतालका सल्लाहकार मदन गोपाल सुब्बा लगायतले आफ्नो धारणा राखेका थिए । 

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार ००:००  ३ : २९ बजे