झापा-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह निर्वाचनलाई केन्द्रमा राखेर मंगलबारदेखि ‘हामी आउँदैछौं’ अभियान सुरु गर्दैछ। असोज २० देखि २७ गतेसम्म सञ्चालन हुने अभियानमा पार्टीका केन्द्रीय सदस्य र सांसदलाई जिल्ला-जिल्लामा जिम्मेवारीसहित परिचालन गरिएको छ ।
रास्वपाका अनुसार हरेक जिल्लामा कम्तीमा दुई जना केन्द्रीय सदस्य वा सांसद खटाइएको छ । उनीहरूले स्थानीय नेता–कार्यकर्तासँग समन्वय गरी नागरिकका समस्या, स्थानीय तहका मुद्दा र जनअपेक्षाबारे जानकारी संकलन गर्नेछन् ।
स्थानीय तहका मुद्दालाई राजनीतिक एजेन्डाका रूपमा अघि बढाउने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको रास्वपाले जनाएको छ । अभियानमार्फत स्थानीय तहमा पार्टीको संगठनात्मक अवस्था र जनसमर्थनको आधारसमेत पहिचान गर्ने तयारी छ ।
अभियानबाट प्राप्त जनमत र स्थानीय मुद्दाको विश्लेषणपछि आगामी स्थानीय तह निर्वाचनका लागि प्रारम्भिक रणनीति बनाउने रास्वपाको तयारी छ । विशेषगरी नागरिकको बदलिँदो मतलाई पार्टीको पक्षमा आकर्षित गर्ने उपाय पहिचान गर्न अभियान केन्द्रित हुने नेताहरूले बताएका छन् ।



















