२ असार २०८२, सोमबार | Tue Jun 17 2025

बिर्तामोडमा खेलकुद महोत्सव विधागतरुपमा उत्कृष्ट विद्यार्थी पुरस्कृत




झापा-बिर्तामोड नगर खेलकूद विकास समितिको आयोजनामा भएको ‘नगर खेलकूद महोत्सव’ सम्पन्न भएको छ । माघ २६ गतेदेखि सुरु भएको दौड, निवन्ध लेखन, वादविवाद, चित्रकला, खेलकुद हाजिरी जवाफ, पोस्टर डिजाइन प्रतियोगिताको फाइनल वीर अमरसिंह माविमा सम्पन्न भएको हो ।

विजेता हुनेहरुमा वादविवाद प्रतियोगितातर्फ कृतिका आचार्य पहिलो, एलिजा भट्टराई दोश्रो र तेश्रो सृजा काफ्ले रहेका छन् । यसैगरी निवन्ध लेखनतर्फ पुर्निका यादव पहिलो, निकिता तामाङ दोश्रो र दिपशिखा प्रसाई तेश्रो रहेका छन् ।

स्पोर्ट क्विजतर्फ निरज न्यौपाने, प्रज्वल आचार्य प्रथम, निश्चल कटुवाल, प्रवेशहाङ लिम्बु दोश्रो र प्रशन पौडेल, निशान न्यौपाने तेस्रो रहेका छन् ।

पोष्टर डिजाइनतर्फ प्रावि तह रियाना धिमाल पहिलो, सुकुन राजवंशी दोस्रो र विभुत निरौला तेश्रो रहेका छन् । यस्तै निमावि तहतर्फ अन्वेशष ढुंगेल पहिलो, अनुजा अधिकारी दोश्रो र सविना विश्वकर्मा तेश्रो रहेका छन् । मावि तहतर्फ उत्प्रेक्षा राजवंशी पहिलो, प्रेम प्रकाश यादव दोश्रो र निनु भट्टराई तेश्रो रहेका छन् ।

प्रतियोगिताको पेइन्टिङ, ड्रोइङ तर्फ प्रावि तह अन्तर्गत सुहना सिटौला पहिलो, इभाना खनाल दोश्रो र ग्लोरियस गुरुङ तेश्रो भएका छन् । यस्तै निमावि तहतर्फ चेन्जल राजवंशी पहिलो, विवेक राजवंशी दोश्रो र विकास राजवंशी तेश्रो भएका छन् । मावि तहतर्फ सौरभ टुडु पहिलो, शृष्टि साह दोश्रो र प्राश्ना खड्का तेश्रो भएका छन् ।

प्रतियोगिताको रनिङतर्फ विभिन्न तह अन्र्तगत विजेता छनोट गरिएको छ । सबै विधाका विजेताहरुले पहिलो, दोश्रो र तेश्रोले क्रमश ४ हजार,२ हजार र १ हजार रुपैयाँ नगदसहित प्रमाण पत्रको व्यवस्था गरिएको नगर खेलकूद विकास समितिका सदस्य तथा महोत्सव आयोजक समिति सह–संयोजक विशाल अग्रवालले बताए ।

प्रतियोगिताको छनोट चरणमा विधागतरुपमा दौडमा ६३ जना, निवन्ध लेखनमा ८ जना, वादविवाद प्रतियोगितामा ८ जना, चित्रकलामा १५ जना, खेलकुद हाजिरीजवाफमा ७ जना, पोस्टर डिजाइन र चित्रकलामा १६ जना छनोट भएका थिए ।

विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले प्रमाण पत्र तथा पुरस्कार प्रदान गरेका छन् । कार्यक्रममा वडा नम्बर २ का वडाअध्यक्ष किशोर पौडेल, कार्यपालिका सदस्य तिला गौतम, न्युटन्स अंग्रेजी स्कुलका प्रिन्सिपल देवेन्द्र हुमागाई, प्रकाश लिङ्देन, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य राज आङ्देम्बे लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार ००:००  ७ : २९ बजे