१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

प्रधानमन्त्री दाहाल अमेरिका प्रस्थान



झापा-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार साँझ अमेरिका प्रस्थान गरेका छन् । अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ प्रस्थान गरेका हुन् ।

त्रिभुवन विमानस्थलमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री दाहाललाई बिदाइ गरेका छन् । प्रधानमन्त्री विदेशमा रहेका बेला कार्यबाहक प्रधानमन्त्रीको जिम्मा उपप्रधानमन्त्री खड्काले पाएका छन् ।

प्रधानमन्त्री प्रचण्डले आगामी असोज ४ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्ड आगामी आसोज २ गते अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने छन् ।

प्रधानमन्त्री दाहाल आगामी असोज ५ गते न्यूयोर्कबाटै चीनको औपचारिक भ्रमणका लागि हाङजाउ जाने कार्यक्रम छ । हाङजाउमा चिनियाँ राष्ट्रपति सी चीनफिङसँग भेटघाटको कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी छोरी गङ्गा दाहाल, सुरक्षा अधिकारी र सञ्चारकर्मी सहभागी छन्

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार ००:००  ८ : १७ बजे