बिर्तामोड– नेकपा एमाले झापाको जिल्ला अधिवेशन आगामी चैत १५ र १६ गते बिर्तामोडमा हुने भएको छ । एमाले जिल्ला कमिटीको शनिबार बसेको पूर्ण बैठकले अधिवेशनको टुङ्गो लगाएको हो ।
बैठकले अधिवेशनको तयारी सुरु गर्ने निर्णय गर्दै आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । जिल्ला अधिवेशनमार्फत एमाले झापाको नयाँ नेतृत्व चयन हुन लागेको हो ।
पार्टीको जिल्ला कमाण्ड सम्हाल्न नेताहरू आकांक्षी छन् । ती आकांक्षीलाई मिलाएर लैजानु पर्ने चुनौती एमाले वृत्तमा छ । माथिल्लो तहका नेताहरू कसलाई नेतृत्व सुम्पने भन्नेमा रणनीतिक छलफलमा छन् ।
यसअघि आठौँ बैठकले जिल्ला अधिवेशन २०८१ वैशाख १४ र १५ गतेका लागि तय गरेको थियो । तर, इलाम क्षेत्र नम्बर २ मा वैशाख १५ मा उपनिर्वाचन हुने भएकाले त्यस अगाबै झापाको अधिवेशन एक महिना अगाडि सारिएको हो ।
कार्यवाहक अध्यक्ष प्रेम गिरीको अध्यक्षता र पार्टी स्थायी कमिटीका सदस्य अग्नि खरेलको प्रमुख अतिथ्यमा भएको बैठकले अधिवेशन सम्पन्न गर्न एक दर्जन हाराहारीमा उपसमिति पनि गठन गरेको प्रचार विभाग प्रमुख गोपाल काफ्लेले बताए ।


















