७ आश्विन २०८०, आइतबार | Mon Sep 25 2023

अधिवक्ता पाण्डे र दमन गर्ने प्रहरीमाथि कारबाही गर्न तामाङ र मगर समुदायको माग



बिर्तामोड– झापाका तामाङ र मगर समुदायले साेमबार प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलमार्फत गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका छन् ‌।

विवादास्पद अभिव्यक्ति दिएर सामाजिक सद्भाव बिगार्न खोज्ने अधिवक्ता भगवती पाण्डेलाई पक्राउ गर्न माग गर्दै गरिएको आन्दोलनमा दमन भएको जनाउँदै तामाङ र मगर समुदायले गृहमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

विवादास्पद अभिव्यक्ति दिएर जातीय सद्भाव विथोल्न खोज्ने अधिवक्ता पाण्डे र दमन गर्ने प्रहरी माथि कारबाही गर्न माग गर्दै ज्ञापनपत्र बुझाइएको नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समितिका अध्यक्ष जगत तामाङले बताए ‌

शान्तिपूर्ण आन्दोलनका क्रममा कानुनविपरीत पक्राउ गरी हिरासतमा राखेर चरम यातना दिएको भन्दै उनीहरुले घटनाप्रति आपत्ति प्रकट गरेका छन् । यातना दिने प्रहरी र अधिवक्ता पाण्डेलाई कारबाही गर्न ज्ञापन पत्रमा माग गरिएको छ ।

अधिवक्ता पाण्डेलाई पक्राउ पूर्जी जारी भएर पनि उन्मुक्ति दिन खोजेको भन्दै नेपाल तामाङ घेदुङ र नेपाल मगर संघले साउन १७ गते काठमाडौंमा आन्दोलन गरेका थिए ।

आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको र तीन दर्जनभन्दा बढीलाई नियन्त्रणमा लिएको जनाइएको छ ‌। ज्ञापनपत्रमा तामाङ र मगर समुदायले घाइतेहरूको उपचार गर्न र उचित क्षतिपूर्ति दिन गृहमन्त्री समक्ष माग राखेका छन् ‌।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार ००:००  ९ : ३४ बजे