१८ बैशाख २०८१, मंगलबार | Tue Apr 30 2024

डाक्टर सन्दुक रुइतलाई पाँच लाख रूपैयाँ राशिको पुरस्कार



भद्रपुर-आँखा रोग विशेषज्ञ डाक्टर सन्दुक रुइत पुरस्कृत भएका छन् । झापाको भद्रपुरमा मंगलबार आयोजित समारोहका बीच नेत्ररोग विशेषज्ञ डाक्टर रुइतलाई श्रीप्रसाद ओली स्मृति राष्ट्रिय अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार प्रदान गरिएको हो ।

रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठान झापाले स्थापना गरेको उक्त पुरस्कारको राशि ५ लाख रुपैयाँ रहेको छ । कोशी प्रदेश प्रमुख परशुराम खापुङले डाक्टर रुइतलाई उक्त पुरस्कार प्रदान गरेका हुन् ।

प्रतिष्ठानले देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार बुद्धशान्ति गाउँपालिकाका १७ वर्षीय सविन बाँस्कोटालाई प्रदान गरेको छ । उक्त पुरस्कारको राशि एक लाख एक हजार एक सय ११ रुपैयाँ छ ।

प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले समाज सुधार र पेशागत विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान गर्ने व्यक्तित्वलाई पुरस्कृत गरिँदै आएको बताए ‌। कार्यक्रममा झापाका अग्रज पत्रकार चन्द्र भण्डारी, भद्रपुर नगरका प्रमुख गणेश पोखरेल लगायतले बोलेका थिए ।

प्रतिष्ठानका सचिव नारायण ओलीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी लीला अनमोलले गरेकी थिइन्।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार ००:००  ७ : ५९ बजे