१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

पूर्व राजाले आज बिर्तामोडमा पृथ्वीनारायण शाहको सालिक अनावरण गर्ने



बिर्तामोड-पूर्व राजा ज्ञानेन्द्र शाहले आज दिउँसो झापाको बिर्तामोडमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिक अनावरण गर्दैछन् । बिर्तामोड–१ को देवी पञ्चकन्यामा रहेको इकोम कलेजमा पृथ्वीनारायण शाहको सालिक अनावरण गर्ने कार्यक्रम राखिएको हो ।

शालिक अनावरण लगायतका कार्यक्रमका लागि पूर्व राजा शाह शुक्रवार बुद्ध एयरको जहाजमार्फत झापा ओर्लिएका थिए । झापाको मेचीनगरस्थित होटल मेची क्राउनमा उनको बास छ ।

शनिवार समर्थकसहितको र्यालीमा सहभागी हुँदै पूर्वराजा कार्यक्रमस्थलमा पुग्ने जनाइएको छ । कलेजले आयोजना गरेको कार्यक्रमको सम्पूर्ण व्यवस्थापन राप्रपाले मिलाएको हो ।

पूर्व राजाको स्वागतका लागि राप्रपाले आफ्ना हजारौँ कार्यकर्ता परिचालन गर्ने जनाएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन साताअघिदेखि पूर्व राजाको स्वागत तयारीमा झापामा सक्रिय छन् ।

पूर्वराजाले स्थानीय बुद्धिजिवी र नेताहरुसँग भेटघाट र भलाकुसारी गर्नेछन् । पूर्वराजाको भ्रमणलाई भव्य, ऐतिहासिक र सफल बनाउन पार्टीको सम्पूर्ण शक्ति परिचालन भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार ००:००  ७ : ३१ बजे