१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

बिर्तामोडमा पहिलोपटक चैत २७ देखि रामकथा आयोजना



बिर्तामोड-श्री हरि सत्संग समिति नेपालको आयोजनामा चैत २७ गतेदेखि वैशाख ५ गतेसम्म झापाको बिर्तामोडमा राम कथा आयोजना हुने भएको छ ।

समितिको बिर्तामोड च्याप्टरले आइतबार पत्रकार सम्मेलन गरी आयोजना गर्न लागिएको धार्मिक अनुष्ठानबारे जानकारी दिएको हो ।

बिर्तामोड च्याप्टरका अध्यक्ष उमेश डालमियाले सनातन हिन्दू धर्मकाे रक्षा गर्दै ओमकार परिवारलाई एकताको सुत्रमा बाँधेर लैजाने उद्देश्यले राम कथाको आयोजना गरिएको जानकारी दिए ।

बिर्तामोडमा पहिलोपटक मर्यादा पुरुषोत्तम रामको कथा वाचन हुन लागेको हो । राम नवमीको अवसर समेत पारेर बिर्तामोडको अग्रसन भवनमा कथा आयोजना गरिएको छ ।

अयोध्याबाट प्रशिक्षित कथावाचिका संगीता किशोरीकाे मुखारविन्दबाट रामकथा वाचन हुने श्रीहरि सत्संग समिति नेपालका राष्ट्रिय अध्यक्ष वेदप्रकाश अग्रवालले बताए ।

विभिन्न प्रलोभनमा पारेर धर्म परिवर्तन गर्ने कार्यलाई निरुत्साहित गर्दै ओमकार परिवारलाई थप संगठित गर्ने उद्देश्यले राम कथाको आयोजना गरिएको समितिका संरक्षक भगवान दास अग्रवाल बताउँछन् ।

रामकथा पाठपारायणको अवधिमा ओमकार परिवारभित्र रहेका धर्मगुरुहरूबाट पनि दैनिक प्रवचन हुनेछ । इच्छुकबाट सहयोग संकलन गरी रामकथा पाठपारायणको व्यवस्था मिलाइएको हाे ।

करिब २० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको अध्यक्ष डालमियाले जानकारी दिए । समितिका सचिव बाबुलाल अग्रवालका अनुसार दुई वर्षदेखि विभिन्न जिल्लामा श्रीहरि सत्संग समितिको शाखाहरू विस्तार भइरहेका छन् ।

२७ गते बिहान ८ बजे बिर्तामोडको दुर्गा मन्दिरदेखि अग्रसेनको बालाजी मन्दिरसम्म कलश तथा शोभा यात्रा आयोजना गरिएको छ । विभिन्न झाँकीसहित शोभा यात्रा सञ्चालन हुनेछ ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार ००:००  ८ : ०० बजे