१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025

चिसोका कारण एक महिने सुत्केरीको मृत्यु



झापा–चिसोका कारण भूकम्प प्रभावित जाजरकोटमा एक जना सुत्केरीको मृत्यु भएको छ । भूकम्पले घरमा क्षति पुर्‍याएपछि त्रिपालमुनि बस्दै आएकी नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको हो ।

स्थानीय टेकबहादुर नेपालीले चदाराको सोमबार राति चिसोबाट मृत्यु भएको जानकारी दिए । वडाध्यक्ष तेजबहादुर सिंहले पनि घर बाहिर त्रिपालमुनि बस्दै आएकी चदाराको चिसोबाट मृत्यु भएको पुष्टि गरेका छन् ।

एक महिनाकी सुत्केरी चदाराले छोरी जन्माएकी थिइन् । कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प जाँदा एक सय ५४ जनाको मृत्यु भएको थियो भने तीन सय ४६ जना घाइते भएका थिए ।

भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको जनाइएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार ००:००  ८ : ५६ बजे