बिर्तामोड-पत्रकार सन्तोष न्यौपाने सहारा सहकारी पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । शनिवार बिर्तामोडमा आयोजित समारोहका बीच कार्यक्रमका प्रमुख अतिथि सभामुख देवराज घिमिरेले पत्रकार न्यौपानेलाई नगदसहित पुरस्कृत गरेका हुन् ।
एभीन्यूज टेलिभिजनका झापा सम्वाददाता पत्रकार न्यौपानेलाई संस्थाका अध्यक्ष हरि राजवंशी र कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका छन् ।
पुरस्कारको राशि २५ हजार रुपैयाँ छ । पत्रकारिताको माध्यमबाट गरेको योगदानको कदरस्वरुप पत्रकार न्यौपानेलाई पुरस्कृत गरिएको संस्थाका कार्यकारी निर्देशक गिरीले बताए । पत्रकार न्यौपाने एकदशकदेखि पत्रकारितामा क्रियाशील छन् ।