७ माघ २०८२, मंगलबार | Tue Jan 20 2026

बजारमा चामलको भाउ अनियन्त्रित, रमिते भए सरकारी निकाय



झापा-भारतले निर्यातमा प्रतिवन्ध लगाएपछि नेपाली बजारमा चामलको भाउ बढेको छ । व्यापारीले भारतीय प्रतिवन्धलाई कारण देखाउँदै आफूखुशी मनपरी ढंगले भाउ बढाएका छन् ।

बजारमा उपलब्ध अधिकांश ब्रान्डका चामलको मूल्य बढेको छ । ‘स्टक रहेको चामलको भाउ बढाएर व्यापारीले उपभोक्तामाथि लुट मच्चाउँदा पनि राज्यका निकाय मौन प्राय छन् ।

राष्ट्रिय उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिम्सिना प्रतिबन्धको बहानामा व्यापारीले मनलाग्दी तरिकाले चामलको मूल्य बढाएको बताउँछन् ।

व्यवसायिक मूल्यमा हस्तक्षेप गर्ने राज्यको नीति नहुँदा उपभोक्ता सधैँ मारमा छन् । प्रशासनिक निकाय र व्यवसायीको मिलेमतोको परिणाम बजारमा उपभोग्य सामानको मनलाग्दी मूल्य निर्धारण भइरहेको छ ।

स्थानीय उपभोक्ताका अनुसार सातायता दुई सय ५० देखि प्रतिवोरा सातसय रुपैयाँ मूल्य बढाइएको छ । सर्वसाधारणले धान्नै नसक्ने गरी मूल्य बढेको उपभोक्ता चन्द्र गहतराजले बताए ।

‘थोरै आम्दानीको भरमा परिवार चलाउने हामी जस्ता मान्छेका लागि यो देशमा सरकार भको जस्तो पनि लाग्न छोडिसको’, गहतराजले पीडा पोखे, ‘चामल पनि किन्न सकिएन भने भोकै मर्नुको विकल्प छैन् ।’

नेपाल खुद्रा व्यापार सङ्घका अध्यक्ष पवित्र वज्राचार्यले सानालाई अनुगमनका नाममा तर्साउने र ठूलासँगै मिलेमतो गर्ने प्रवृत्ति अन्त्य भए मात्र सर्वसाधारणले राहत पाउने बताए ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पनि चामलको मूल्य बढेको स्वीकार गरेको छ । विभागका निर्देशक होमनाथ भट्टराई चामलको मूल्य प्रतिबोरा १५० देखि दुई सय रुपियाँसम्म महँगो भएको बताउँछन् ।

‘प्रतिबन्धको बहानामा मूल्य वृद्धि गरेको पाइए उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम हदैसम्मको कारबाही गर्छाै’, निर्देशक भट्टराईले भने ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहिबार ००:००  ८ : ३६ बजे