१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

न्यूटन्समा आकस्मिक वक्तृत्वकला : जहाँ ५ मिनेट अघि मात्रै विषय छान्न दिइयो



बिर्तामोड-पूर्व घोषित विषयमा आफ्ना धारणा बनाएर आउने विद्यार्थीको परम्परागत शैलीमा परिवर्तन गर्दै न्यूटन्स एजुकेशन एकाडेमीले शुक्रवार विद्यालयको सभाहलमा आकस्मिक वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ ।

न्यूटन्स् बाल क्लबको अग्रसरतामा भएको प्रतियोगितामा नगरभरिका सामुदायिक तथा संस्थागत गरी १८ वटा विद्यालयका विद्यार्थी सहभागी भएका छन् । सहभागी विद्यार्थीलाई बोल्नु भन्दा पाँच मिनेट अगाडि गोलाप्रथाद्वारा विषय छान्न दिइएको छ ।

पहिले विषय थाहा पाएर पूर्व तयारीका साथ आउने बानी परेका विद्यार्थी पाँच मिनेट अगाडि विषय छान्नु पर्दा केही अलमलमा परे जस्तो देखिएका छन् ।

तर, विद्यार्थी बीच विषयको बुझाइ आँकलन गर्न र थप प्रतिस्पर्धी क्षमताको विकासका लागि आकस्मिक वक्तृत्वकला आयोजना गरिएको न्यूटन्स एजुकेशन एकाडेमीका प्रिन्सिपल देबेन्द्र हुमागाईले बताए ।

प्रतियोगितामा बाल्मिकी एजुकेशनका शीतोष्णा तिम्सिना प्रथम, लिटल फ्लावर्स स्कूलका अमन पौडेल द्वितीय, मोहनमाया माध्यमिक विद्यालयका एलिना तिम्सिना तृतीय र न्यूटन्स् एकाडेमीका रोनिषा दाहाल सान्त्वना भएका छन् ।

बिजेता विद्यार्थीले क्रमशः ५ हजार, ३ हजार, २ हजार र एक हजार सहित प्रमाणपत्र प्राप्त गरेको फोकल पर्सन मीनु शिवाकोटीले बताइन् ।

विश्व साक्षरता दिवस तथा बाल दिवसको अवसरमा आयोजित कार्यक्रम क्लबका उपाध्यक्ष युसन उप्रेतीको अध्यक्षता र शिक्षा शाखा अधिकृत दिनेश आचार्यको प्रमुख आतिथ्यमा भएको हो ।

विद्यालयका संस्थापक हरिकुमार प्रसाईको तस्वीरमा माल्यार्पण गर्दै कार्यक्रम प्रारम्भ गरिएको थियो । प्रसाईको निधन भएको करिव एक वर्ष हुनै लागेको छ ।

कार्यक्रममा बोल्दै शिक्षा अधिकृत आचार्यले आकस्मिक वक्तृत्वको अवधारणाले विषयको बुझाईका लागि विद्यार्थी थप मेहनती र जिज्ञासु बन्न सक्ने बताए । नगरलाई बालमैत्री बनाउने अभियानमा सरोकारवाला सबैको सहयोग रहनु पर्ने आचार्यको धारणा छ ।

क्लबका कोषाध्यक्ष कृषा न्यौपानेले स्वागत गरेको कार्यक्रममा बालबालिका तथा शिक्षा सञ्चार मञ्च संयोजक सरोज पौडेल, प्याब्सन नगर अध्यक्ष उत्तम खनाल, शिक्षक महासंघ नगर अध्यक्ष युवराज कट्टेलले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममाथि प्रकाश पार्दै प्रधानाध्यापक देबेन्द्र हुमागाईले विद्यार्थीहरु बीच प्रतिस्पर्धी क्षमताको विकास गर्ने उद्देश्इले कार्यक्रम आयोजना गरिएको बताए ।

विजयीहरुलाई संस्थापक तथा विद्यालय ब्यवस्थापन समिति अध्यक्ष धर्मा पराजुली प्रसाईले नगद तथा प्रमाणपत्र प्रदान गरेकी थिइन् । १८ वटा विद्यालय सहभागी रहेको कार्यक्रमको सञ्चालन शिक्षक पवित्रा पौडेलले गरेकी थिइन् ।

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार ००:००  ८ : ११ बजे