१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

एकता स्पोर्टिङ गोल्डकपमा झापा ११ विजयी



बिर्तामोड- झापाको चारपानेमा बिहीवारबाट सुरु भएको दोस्रो एक्सपर्ट एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगितामा झापा ११ एफसीले विजयी सुरुवात गरेको छ ।

बिर्तामोड–२ स्थित वीर अमरसिंह माध्यमिक विद्यालयको मैदानमा भएको खेलमा झापा ११ ले बाहुनडाँगी एफसीलाई ३–१ गोल अन्तरले हराएको हो ।

झापा ११ का लागि समिर गुरुङ, प्रदीप बुढाथोकी र मनिष लिम्बूले गोल गरेका छन् । बाहुनडाँगीका तर्फबाट सेवन मगरले सान्त्वना गोल फर्काएका छन् ।

सुरुवातदेखि बाहुनडाँगीलाई दबाबमा राखेको झापा ११ सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको प्लेयर अफ द म्याच झापा ११ का प्रदीप बुढाथोकी भएका छन् । उनले नगद तीन हजार पाएका छन् ।

प्रतियोगितामा झापाका आठवटा क्लवको सहभागिता रहेको छ । झापा ११, बाहुनडाँगी एफसी, बुट्टाबारी युनाइटेड, झापा एफसी राजगढ, सैनिक एफसी, नव प्रतिभा युवा क्लव, ब्रदर्श युनाइटेड र आयोजक एकता स्पोर्टिङ क्लबले प्रतियोगितामा भाग लिएको अध्यक्ष किरण पौडेलले बताए ।

प्रतियोगिताको फाइनल खेल कात्तिक ३ गते हुनेछ । प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११ र उपविजेताले ५५ हजार ५५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।

प्रत्येक खेलमा प्लेयर अफ द म्याचले नगद ३ हजार पाउँदा उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, कोच, हाइस्कोर र उत्कृष्ट खेलाडीलाई जनही ३ हजार रुपैयाँ प्रदान गरिने प्राविधिक समिति संयोजक माधव खरेलले जानकारी दिए ।

२०७४ सालमा स्थापना भएको एकता स्पोर्टिङ क्लबले प्रशिक्षकको व्यवस्था गरी १६ वर्षमुनिका १ सयभन्दा बढी बालबालिकाहरूलाई फुटबल प्रशिक्षण प्रदान गर्दै आएको छ ।

अन्डर १२ फुटबल प्रशिक्षण गर्ने, योग्य खेलाडी उत्पादन गर्ने, युवाहरूलाई फुटबलप्रति उत्प्रेरित गर्ने क्लवको उद्देश्य रहेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार ००:००  ९ : ११ बजे