बिर्तामोड-झापाको बिर्तामोड– ७ मा रहेको कञ्चन अंग्रेजी माध्यमिक विद्यालयले एकजना मिर्गौला पीडितका सन्तानलाई निःशुल्क पढाइदिने घोषणा गरेको छ ।
विद्यालयले बिर्तामोड– ६ का मिर्गौला पीडित ४३ वर्षीय बुद्धिराज देवानका छोरा ११ वर्षीय आयुष देवानलाई कक्षा १० सम्म निःशुल्क पढाइदिने निर्णय गरेको हो ।
आयुष सोही विद्यालयमा कक्षा ४ मा अध्ययनरत छन् । विद्यालयका संस्थापक बद्री बास्कोटाले अभिभावकको स्वास्थ्य समस्याका कारण विद्यार्थीको पठनपाठन अवरुद्ध नहोस् भनेर सहयोग गर्न लागिएको बताए ।
ताप्लेजुङबाट झापा आएका बुद्धिराज बिर्तामोड–६ मा डेरा बस्दै आएका छन् । उनी वैदेशिक रोजगारीका लागि दुबई गएका थिए । त्यही उनको दुईवटै मिर्गौला खराब भएको पत्ता लागेको थियो ।
विरामी भएर नेपाल फर्केका बुद्धिराजले विगत एक महिनादेखि भद्रपुरको ओमसाई हस्पिटलमा डाइलोसिस गराउँदै आएका छन् । उनकी श्रीमती माया देवान वैदेशिक रोजगारीका लागि इराकमा रहेकी छन् ।
आर्थिक अबस्था कमजोर भएका बुद्धिराजले आफ्ना छोरालाई विद्यालयले निःशुल्क पढाइदिने निर्णय गरेर सहयोग गरेकोमा धन्यवाद दिएका छन् ।

















