भद्रपुर- झापाको भद्रपुरमा जारी प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको आजको खेलमा भद्रपुर ब्लेजर्स विजयी भएको छ । दोस्रो खेलमा कचनकवल गाउँपालिका र बाह्रदशी गाउँपालिकाले अंक बाँडेका छन् ।
भद्रपुर झापा गोल्डकपको आयोजनामा मेची रंगशालामा भएको पहिलो खेलमा भद्रपुर ब्लेजर्सले कनकाई नगरपालिकालाई २–१ गोल अन्तरले हराएको हो । भद्रपुर ब्लेजर्सले जारी प्रतियोगितामा स्पष्ट ३ अंक जोडेको छ ।
खेलको १९ औँ मिनेटमा भद्रपुर ब्लेजर्सका सनम गुरुङले गोल गरेका छन् । त्यस्तै, खेलको ८१ औँ मिनेटमा मौसम सुब्बा लिम्बूले अर्को गोल गरेका छन् । कनकाईका सलिन कार्कीले ८३ औँ सान्त्वना गोल फर्काएका छन् ।
खेलको प्लेयर अफ दि म्याच भद्रपुर ब्लेजर्सका सनम गुरुङ भएका छन् । उनलाई गोल्डकपका अध्यक्ष दीपेश ढकाल, प्रमुख सल्लाहकार टीकाराज ढकाल, झापा उद्योग वाणिज्य संघका अध्यक्ष प्रज्ज्वल राईले नगद दुई हजार र ट्रफी प्रदान गरेका छन् ।
आज भएको दोस्रो खेल कचनकवल र बाह्रदशीबीच गोलरहित बराबरीमा टुंगिएको छ । खेलको प्लेयर अफ दि म्याच बाह्रदशीका विजय टुडू भएका छन् ।
उनलाई झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी र सौजन्यकर्ता मालपोत अधिकृत राजु दाहालले नगद दुई हजार र ट्रफी प्रदान गरेका छन् ।
प्रतियोगितमा झापाका १४ वटा पालिका र आयोजकको भद्रपुर ब्लेजर्स टिम गरी १५ वटा टीमले प्रतिस्पर्धा गर्दै छन् । १८ दिनसम्म सञ्चालन हुने प्रतियोगिताको फाइनल खेल मंसिर २४ गते हुने महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए ।