१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा श्रेष्ठ सिफारिस



झापा-संवैधानिक परिषद्ले विश्वम्भरप्रसाद श्रेष्ठलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्त गर्न सिफारिस गरेको छ । श्रेष्ठ सर्वोच्चका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीपछि वरिष्ठतम न्यायाधीश हुन् ।

श्रेष्ठ २०७३ साल साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए । न्याय सेवामा लामो समय बिताएका श्रेष्ठले मानवशास्त्रमा स्नातकोत्तर र कानूनमा डिप्लोमा गरेका छन् ।

सन् १९५९ अक्टोबर ६ तारिखमा डोटीको सिलगढीमा जन्मिएका श्रेष्ठ सन् १९८२ अप्रिल ९ मा शाखा अधिकृतको अस्थायी दरबन्दीबाट सरकारी सेवामा प्रवेश गरेका थिए ।

सर्वोच्चको न्यायाधीश नियुक्त हुनुअघि सन् २०१४ मा पुनरावेदन अदालत हेटौंडाको मुख्य न्यायाधीश नियुक्त भएका श्रेष्ठलाई स्वभाविकरुपमा प्रधानन्यायाधीशको दावेदारका रुपमा हेरिएको थियो ।

२०७३ साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका श्रेष्ठले त्यसको ठीक सात वर्षपछि सर्वोच्च अदालतको नेतृत्व गर्ने अवसर पाउन लागेका हुन् । प्रधानन्यायाधीशका रुपमा विश्वम्भरले १४ महिना नेतृत्व गर्ने छन् ।

२०८१ साउन २० गते श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण अवकास हुनेछन् । प्रधानन्यायाधीशमा सिफारिस श्रेष्ठको बारेमा अब संसदीय विशेष समितिमा सुनुवाई हुनेछ । उनीविरुद्ध उजुरी गर्नका लागि समितिले समय तोक्नेछ ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहिबार ००:००  ८ : ३५ बजे