२८ जेष्ठ २०८०, आइतबार | Sun Jun 11 2023

प्राध्यापकले खोले, विद्यार्थीले पाँच महिनामा पनि खोल्न मानेनन् ताला



झापा-विभिन्न विद्यार्थी संगठनले पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगको कार्यालयमा पाँच महिनाअघि लगाएको ताला अझै खुल्न सकेको छैन् । आफ्ना माग पूरा नभएसम्म ताला नखोल्ने विद्यार्थीको अडान छ ।

आयोगले पदपूर्तिका लागि खोलेको विज्ञापनलाई स्थगित गर्नुपर्ने र उम्मेदवारको उमेरहदलाई ४५ वर्षबाट ४० वर्ष कायम गर्नुपर्ने माग गर्दै विभिन्न विद्यार्थी संगठनले मंसिरमा तालाबन्दी गरेका थिए ।

यसअघि पूर्वाञ्चल विश्वविद्यालयमा प्राध्यापक संघले लगाएको ताला भने पाँच महिनापछि सोमवार खुलेको थियो । आइतबार भएको वार्तामा सहमति भएपछि प्राध्यापक संघले लगाएको ताला खोलिएको हो ।

विश्वविद्यालयको ३५ औँ सभामा आफूहरुलाई सहभागी नगराइएको जनाउँदै प्राध्यापक संघले मंसिर १ गते उपकुलपति प्राध्यापक डाक्टर यादवराज कोइराला र रजिष्ट्रार नीलमणि पोखरेलको कार्यकक्षमा ताला लगाएको थियो ।

आइतबार भएको वार्तामा सहमति भएपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएर तालाबन्दी खोलिएको प्राध्यापक सङ्घका अध्यक्ष यज्ञप्रसाद कट्टेलले जानकारी दिए ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार ००:००  २ : ४७ बजे