बिर्तामोड–मानवअधिकारवादी नेता कृष्ण पहाडीले बहिष्कारको आन्दोलनबाट पछाडि हट्न पहिचानवादी राजनीतिक शक्तिलाई सार्वजनिक अपिल गरेका छन् । झापाको बिर्तामोडमा सोमवार मानवअधिकार तथा शान्ति समाजले आयोजना गरेको नागरिक संवाद कार्यक्रममार्फत अधिकारवादी नेता पहाडीले यस्तो अपिल गरेका हुन् ।
बहिष्कारको आन्दोलनले पहिचान पक्षधर शक्तिलाई थप कमजोर बनाउने नेता पहाडीले बताए । उनले आपसी वार्ता र संवादको माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरे । कोसी प्रदेशको नामप्रति असहमति जनाउँदै पहिचानवादी शक्ति र समूह बहिष्कार र विरोधको आन्दोलनमा छन् ।
नेता पहाडीले ठूला राजनीतिक दलका नेता भ्रष्टाचार र अनियमितामा संलग्न भएको, आफ्ना पार्टीका भ्र्रष्ट नेता कार्यकर्ताको संरक्षणमा जुटेको भन्दै त्यसले लोकतान्त्रिक व्यवस्था थप कमजोर र धरासायी हुने खतरा बढेको औँल्याए । उनले नेपालको वर्तमान संसद राष्ट्रिय पञ्चायतको स्वरुपमा गइसकेको टिप्पणी गरे ।