बिर्तामोड–आइटेल कम्पनीका दुई नयाँ उत्पादन बजारमा आएका छन् । मध्यमस्तरका उपभोक्तालाई आकर्षित गर्ने उद्देश्य राखेर आइटेलले एस २३ र ए ६० एस ब्राण्डका मोबाइल बजारमा ल्याएको हो ।
आइटेलले सात वर्षदेखि आफ्ना उत्पादन नेपाली बजारमा बेच्दै आएको छ । झापामा बिर्तामोडको न्यू जुनतारा सप्लायर्सले आइटेल कम्पनीका उत्पादन बेच्ने गर्छ ।
झापा र इलामको आधिकारिक बिक्रेताका रुपमा न्यू जुनताराले आइटेलको नयाँ ब्राण्डका मोबाइल पनि बेच्न थालेको हो ।
न्यू जुनतारा सप्लायर्सका सञ्चालक ऋषि भण्डारीले महङ्गा मोबाइलमा भन्दा मध्यम मूल्यका उत्पादनमा उपभोक्ताको ध्यान जाने भएकाले आइटेल कम्पनीका उत्पादन आफूले बेच्दै आएको बताए ।
शुक्रवार बिर्तामोडमा आइटेल कम्पनीका नयाँ मोडलका मोबाइल फोन सार्वजनिक गर्दै कम्पनीका एरिया सेल्स मेनेजर माधवप्रसाद सुवेदीले व्यवसायिक योजना कार्यान्वयनमा न्यू जुनताराले आफूलाई अब्बल सावित गर्ने बताए ।
मोबाइल एशोसिएसन बिर्तामोडका अध्यक्ष युवराज निरौला मध्यमस्तरका उपभोक्ताको रुचि र चाहना अनुसारका मोवाइल आइटेलले उत्पादन गरिरहेको बताउँछन् ।

‘प्रविधिको पहुँचमा पुगेका मध्यमस्तरका उपभोक्ताका लागि आइटेलका उत्पादन उपयोगी छन्’, मोवाइल सार्वजनिक कार्यक्रममा अध्यक्ष निरौलाले भने ।
आइटेल र टेक्नो कम्पनीको नेपालका लागि आधिकारिक बिक्रेताका रुपमा महालक्ष्मी मोबाइल प्रालि छ । कार्यक्रममा टेक्नोका एरिया सेल्स मेनेजर शिव बस्नेत, मोवाइल व्यवसायी राजु सापकोटा लगायतको उपस्थित रहेको थियो । कार्यक्रमको सञ्चालन पुष्पा गौतमले गरेकी थिइन् ।
यस्ता छन् विशेषता
आइटेलको नयाँ मोडल एस २३ मोबाइलमा १६ जिबी र्याम छ । १२८ जिबी इन्टरनल मेमोरी तथा ब्याक क्यामेरा ५० मेघा फिक्सेलको छ । जसको बजार मूल्य १५ हजार ८९० रुपैयाँ छ ।
अर्को नयाँ मोडल मोवाइल फोन ए ६० एसमा ८ जिवी र्याम र १२८ जिबी मेमोरी रहेको छ । यसको मूल्य १२ हजार ६९० रुपैयाँ पर्ने सेल्स मेनेजर बस्नेत बताउँछन् ।