काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार टेलिफोन वार्ता भएको छ ।
प्रधानमन्त्री दाहालको पछिल्लो भारत भ्रमणका क्रममा भएको छलफल र सहमति कार्यान्वयनका विषयमा फलोअपका रुपमा कुराकानी भएको प्रधानमन्त्रीको प्रेस सचिवालयले जनाएको हो ।
सचिवालयका अनुसार वार्ताका क्रममा नेपाल–भारतबीच आपसी हितका विविध विषयमा समीक्षा गरिएको छ ।
‘छलफलमा दुवै देशका प्रधानमन्त्री द्विपक्षीय साझेदारीलाई अगाडि बढाउन र आपसी सम्बन्धलाई अझ सुदृढ बनाउन सहमत हुनु भएको थियो’, सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
भारतीय प्रधानमन्त्रीसँगको टेलिफोन वार्ताले दुई देशबीचको उच्चस्तरीय आदानप्रदानको परम्परालाई पनि निरन्तरता दिएको जनाइएको छ ।