झापा–बिर्तामोड नगर अस्पतालमा निशुल्क प्रसूति सेवा लिनेको संख्या २४ पुगेको छ । अस्पतालमा असार ३ गते आइतबारदेखि नर्मल डेलिभरी सेवा सुरु भएको थियो ।
अस्पतालले बालरोग विशेषज्ञ सेवा थप गरेसँगै नर्मल डेलिभरी सेवा उपलब्ध हुन थालेको थियो । नगर अस्पतालमा प्रसुति हुनेका लागि मायाकोे झोलासमेत प्रदान गरिँदै आएको छ ।
झोेलामा वच्चाको भोटो, टोपी, दौरा सुरुवाल दुई दुई थान, युरिन म्याट र आमालाई लुगा (म्याक्सी) एक एक थान उपलव्ध हुने गरेको छ । नगर अस्पतालले प्रसुति सेवा लिनेलाई एक हजार दिँदै आएको छ ।
सरकारी अस्पताल वा स्वास्थ्य केन्द्रमा नियमित गर्भवती जाँच गराउनेको लागि आठ सय रुपैयाँ थप गरी १८ सय रुपैयाँ नगद प्रदान गर्दै आएको मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सुनिल अधिकारीले बताए ।
नगर अस्पतालबाट हाल दैनिक तीन सय जना भन्दा बढीले विभिन्न प्रकारका स्वास्थ्य सेवा लिँदै आएका छन् ।