काँकडभिट्टा– सीमावर्ती नाकामा सशस्त्र प्रहरीको ज्यादती बढ्दै गएको छ । सशस्त्र प्रहरी एकपछि अर्को श्रृङ्खलाबद्ध विवाद र उश्रृङखलताकाे चपेटामा परिरहेको हो ।
तस्करी नियन्त्रणका नाममा स्थानीयमाथि सशस्त्र प्रहरीले ज्यादती गर्दै आएको सर्वसाधारण बताउँछन् । शुक्रबार साँझ भएको विवादमा सशस्त्र प्रहरीका जवान खुकुरीसहित आक्रमणमा उत्रिएका छन् ।
सशस्त्र प्रहरीले हानेको खुकुरी लागेर ६ जनाभन्दा बढी स्थानीय घाइते भएका छन् । काँकडभिट्टास्थित नेपाल भारत सीमाको सीमा नम्बर ९०२/९०३ नजिक घटना भएको हो ।
काँकडभिट्टाको गैरीगाउँमा तस्करी नियन्त्रणका लागि आएको प्रस्तावित सीमा सुरक्षा गुल्मका सशस्त्र प्रहरी र स्थानीयबीच भनाभन हुँदा सशस्त्रका तर्फबाट कोट मास्टर र ड्राइभरले खुकुरी निकालेर हानेको स्थानीयको दाबी छ ।
खुकुरी प्रहारबाट दीपा बाँदरको हातको औँला काटिएको छ ।हरि बाँदरको छातीमा गहिरो चोट लागेको छ । उनीहरूसहित विशेष राजवंशी, स्थानीय मिलन चापागाईं लगायतको हातमा चोट लागेको छ ।
विवादका क्रममा घाइते भएका सबैलाई झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।