८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

वडालाई बजेट रकमान्तर गर्ने अधिकार छैन : वडाध्यक्ष पौडेल



बिर्तामोड– बिर्तामोडको रामचोक सामुदायिक वनका लागि छुट्याइएको बजेट वडा तहबाट आफूहरूले रकमान्तर नगरेको बिर्तामोड वडा नम्वर-२ ले जनाएको छ ।

कार्यपालिका बैठकमार्फत बजेट रकमान्तर भएको जनाउँदै यसमा वडा कार्यालयको भूमिका नहुने वडाध्यक्ष किशोरकुमार पौडेलले जनाएका छन् ।

बिर्तामोड नगरपालिकाले नगरस्तरीय योजनामार्फत सामुदायिक वनका लागि बजेट विनियोजन गरेको जनाउँदै वडाध्यक्ष पौडेलले वडालाई रकमान्तर गर्ने अधिकार नभएको स्पष्ट पारेका हुन् ।

रामचोक सामुदायिक वनको विकास, प्रवर्द्धन र संरक्षणका लागि ५ करोड रुपैयाँको डीपिआर तयार भएकाले नगरले सानो रकम लगानी नगरेको हुनसक्ने अध्यक्ष पौडेलले बताए ।

यसअघि सोमबार रामचोक सामुदायिक वन उपभोक्ता समूहले आफ्ना लागि छुट्याइएको बजेट रकमान्तर गरिएको भन्दै नगरपालिकामा ज्ञापनपत्र बुझाएको थियो ।

वन समूहले उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलालाई ज्ञापनपत्र बुझाउँदै विनियोजित बजेट अन्यत्र रकमान्तर गरिएकोप्रति असहमति जनाएको थियो ।

आफूहरूसँग वडाले समेत कुनै छलफल नगरी बजेट रकमान्तर गरेर वन समूहलाई अन्याय गर्न खोजेको समूहका अध्यक्ष राजु गौतमले बताए ।

वन समूहले साविकमा विनियोजित बजेट उपलब्ध गराउन माग गर्दै ज्ञापनपत्र बुझाएको गौतमले जानकारी दिए । चालु आर्थिक वर्षको बजेटबाट सामुदायिक वन परिसरमा व्यायामशाला निर्माण गर्ने गरी बिर्तामोड नगरपालिकाले ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

वडाध्यक्ष पौडेलका अनुसार कार्यपालिकामार्फत सामुदायिक वनका लागि विनियोजित बजेट चैतुबारीस्थित दुर्गा मन्दिर परिसरमा पेवर्स बिछ्याउने कार्यमा रकमान्तर गरिएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार ००:००  ११ : ५८ बजे