१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

चामलको बोरामा लुकाएर काठमाडौँ पठाउन लागिएको ब्राउन सुगर बरामद



बिर्तामोड-चामलको बोरामा हालेर काठमाडौँ पठाउन लागिएको ब्राउन सुगरसहित प्रहरीले झापाको दूधेबाट सोमवार दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा शिवसताक्षी ११ का साजन राई र सुन्दर लावती रहेका छन् । प्र१–०१–०१३ प ६५८१ नम्बरको स्कुटीमा चामल हालेर उनीहरु बसको टिकट काउन्टरमा पुगेका थिए ।

प्रहरीले शंका लागेर चेकजाँच गर्दा चामलको बोराभित्र ब्राउन सुगर लुकाएको भेटिएको थियो । झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले उनीहरुका साथमा नौ ग्राम सातसय मिलिग्राम ब्राउन सुगर भेटिएको बताए ।

इलाका प्रहरी कार्यालय झिलझिलेले उनीहरुमाथि आवश्यक अनुसन्धान सुरु गरेको छ । उता झापाको काँकडभिट्टा नाकाबाट पनि प्रहरीले एक ग्राम ब्राउन सुगरसहित बिर्तामोड ६ का सुजन विश्वकर्मालाई पक्राउ गरेको छ ।

भारतबाट आउँदै गरेका विश्वकर्मालाई लागू औषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनलाई काँकडभिट्टा प्रहरीको हिरासतमा राखएिको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार ००:००  ९ : १२ बजे