१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

पशुमा क्षति व्यहोरेका किसानलाई २० हजार राहत दिने प्रस्ताव



झापा-कृषि तथा पशुपक्षी विकास मन्त्रालयले लम्पी स्किन रोगबाट पशु क्षति व्यहोरेका किसानलाई राहतस्वरूप २० हजारसम्म नगद दिने प्रस्ताव गरेको छ ।

पशु क्षतिको स्वरूप हेरेर राहत वितरण गर्न बजेट स्रोतका लागि अर्थ मन्त्रालय प्रस्ताव पठाइएको पशुपक्षी मन्त्रालयले जनाएको हो ।

‘प्रमुख जिल्ला अधिकारीको समन्वयमा राहत वितरण गरिने गरी मापदण्ड प्रस्ताव गरिएको छ । मन्त्रालयका अनुसार किसानले क्षतिको विवरण पशुको संख्या, पशुको प्रकारका आधारमा राहत पाउनेछन् ।

लम्पी स्किन संक्रमण दर बढ्दै जाँदा क्षतिको आकलन गर्नै मुस्किल भएको पशु विभागले जनाएको छ । किसान समूह महासंघका अध्यक्ष नवराज बस्नेतले मधेश प्रदेशमा संक्रमण दर बढेको बताए ।

पशु सेवा विभागका प्रवक्ता चन्द्र ढकालका अनुसार हालसम्म ५२ हजार पाँच सय ४८ पशुको मृत्यु भएको छ ।

कोशी प्रदेशले खोप खरिदका लागि ५० लाख र आकस्मिक रोग नियन्त्रणका लागि हरेक जिल्लामा दुईदेखि तीन लाख तथा मन्त्रालयमा ६० लाख बजेट विनियोजन गरेको विभागले जनाएको छ ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार ००:००  ७ : ४५ बजे