१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

दुई थान पेस्तोलसहित सप्तरीबाट दुई युवक पक्राउ



जनकपुर-नेपाल र सशस्त्र प्रहरीको संयुक्त टोलीले पेस्तोलसहित आइतवार सप्तरीबाट दुई युवकलाई पक्राउ गरेको छ । दुई थान पेस्तोलसहित ती युवक समातिएका हुन् ।

सप्तरी प्रहरीका अनुसार पक्राउ पर्नेमा छिनमस्ता गाउँपालिका-२ महुवाका २८ वर्षीय सोनु राय र राजबिराज नगरपालिका-१ डुमरीका २७ वर्षीय रोशन यादव छन् ।

आइतबार दिउँसो तिलाठी कोइलाडी गाउँपालिका-१ खाडो खोलामा प्रहरीको गस्ती टोलीले चेकजाँच गर्दा सोनु पक्राउ परेका थिए । उनको बयानका आधारमा रोशन समातिएका हुन् ।

सोनुका साथमा मेडइन यूएसए र चाइना लेखेको अटोमेटिक म्याग्जिनसहितको दुई वटा पेस्तोल भेटिएको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी नरेशकुमार सिंहले जानकारी दिए ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार ००:००  ७ : ५४ बजे