१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

वीरता लेडी जेसीजको सार्वजनिक भाषण कला तालिम



बिर्तामोड- वीरता लेडी जेसीजले बिहीबार प्रभावकारी सार्वजनिक भाषण कला सम्बन्धी एकदिने तालिम आयोजना गरेको छ । सदस्यहरूको सीप तथा क्षमता विकास गरी प्रभावकारी भाषणकलामा निपूर्ण बनाउने उद्देश्यले तालिम आयोजना गरिएको हो ।

नेतृत्व विकासको एउटा अभिन्न अङ्गका रूपमा प्रभावकारी सार्वजनिक भाषणकलालाई लिइने भएकाले सोहीअनुसार संस्थाका सदस्य र शुभेच्छुकहरूलाई तालिम दिइएको वीरता लेडी जेसीज सन् २०२४ की अध्यक्ष मेनुका ओलीले बताइन् ।

तालिममा ३४ जना सहभागी भएका छन् । सहभागीलाई रेडियो विराटकी प्रवन्ध निर्देशक लीला अनमोलले तालिम दिएकी छन् । तालिमका माध्यमबाट सदस्यहरूको वाक कलामा सुधार आउने, संस्थागत नेतृत्व तथा क्षमता विकासमा सहयोग पुग्ने र सामाजिक सबलीकरणमा सुधार हुने अपेक्षा गरिएको छ ।

बिर्तामोड नगरपालिका वडा नम्बर ५ का अध्यक्ष रोहित प्रसाईंको प्रमुख आतिथ्यमा तालिम आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै वडाध्यक्ष प्रसाईंले भाषण कलाको अभ्यासले संस्थाका सदस्यहरूलाई सामाजिक संघसंस्थाको नेतृत्वदायी भूमिकामा स्थापित हुन थप सहज हुने विश्वास व्यक्त गरेका छन् ।

तालिमको उद्देश्यका विषयमा निवर्तमान अध्यक्ष संगीता गिरीले प्रकाश पारेकी थिइन् । कार्यक्रममा सदस्य रश्मी सुवेदीले आस्थावाचन गरिन् भने उपाध्यक्ष अस्मिता कुरुम्वाङले स्वागत मन्तव्य राखेकी छन् ।

महासचिव मुना ढुंगेलले सञ्चालन गरेको कार्यक्रममा संस्थाकी संस्थापक अध्यक्ष शारदा रिजाल, पूर्व अध्यक्ष क्लबकी अध्यक्ष कञ्चना सिटौला लगायतको आतिथ्य रहेको थियो ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार ००:००  ३ : २९ बजे