पाँचथर-जिल्ला प्रहरी कार्यालय पाँचथरले कीर्ते नागरिकताका दोषी र बलात्कार आरोपीलाई पक्राउ गरेको छ । कीर्ते नागरिकताका दोषी फिदिम नगरपालिका–१४, का मेखबहादुर राई र बलात्कारका आरोपी मिक्लाजुङ गाउँपालिकाका ५० वर्षीय गंगा राई पक्राउ परेका हुन् ।
दुबै जनालाई फिदिम बजारमा लुकिछिपी बसेको अवस्थामा मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मिलनजङ्ग थापाले बताए ।
सर्वोच्च अदालतले २०७९ भदौ १६ गते मेखबहादुरलाई कीर्ते नागरिकतामा दोषी ठहर गरेको थियो । अदालतको फैसला अनुसार मेखबहादुरले एक वर्ष कैद सजाय भुक्तान र २० हजार रुपियाँ जरिवाना तिर्नु पर्नेछ ।
बलात्कार आरोपी गंगा राईलाई अदालतबाट सात दिनको म्याद लिई अनुसन्धानका लागि कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ । फरक क्षमता भएकी बालिकालाई गंगाले गत साउन २९ गते साँझ जबरजस्ती करणी गरेको आरोप छ ।